३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

थपिएका संक्रमितमध्ये  २१३९ जना काठमाडौंका

काठमाडौं ।  देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ५५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५५६ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७९५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर चार हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४७३ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।