प्रदेश-५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी, प्रस्ताव दुईतिहाइले पारित (भिडियो)
बुटवल, असोज २० । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ ।
प्रदेश-५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।
मंगलबार प्रदेशसभाको बैठकमा भएको मतदानबाट दुईतिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।
पक्षमा ६९ र विपक्षमा १३ मत
मतदानमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । प्रदेशसभामा ८७ सदस्य रहेकोमा मंगलबार मतदानमा ८२ सांसद उपस्थित भएका थिए।
प्रदेशसभामा मतदानमा देउखुरीको पक्षमा बहुमत आएसँगै स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारले पेस गरेको प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको थियो ।
ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट
यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।
लुम्बिनी पनि दुईतिहाइ बहुमतले पारित
प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुईतिहाइ बहुमतले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ ।
‘प्रदेशभरका बासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी‘
यसअघि, बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका बासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताउनुभयो ।
अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका तीनओटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी)को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उहाँको जिकिर छ ।
मुख्यमन्त्री पोखरेलले प्रस्तावित ठाउँले कुनै एउटा भेगकोमात्र प्रतिनिधित्व नगरी सबैको मनोविज्ञानलाई जोड्ने दाबी गर्नुभयो ।
प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै उहाँले लुम्बिनी क्षेत्रकाले दुःख मान्नुनपर्ने बताउनुभयो ।
कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभित्रका सबै जिल्लाका जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गर्नुभयो ।
उहाँले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
भिडियो हेर्नोस्