कञ्चनपुरकी सङ्क्रमित सुत्केरी महिलाको कोहलपुर अस्पतालमा मृत्यु

नेपालगञ्ज- महेन्द्रनगर नगरपालिका २ कञ्चनपुरकी २९ वर्षीया सुत्केरी महिलाको उपचारका क्रममा कोभिड १९ का कारण नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गम्भीर अवस्थामा सेती अस्पतालबाट रिफर गरेर असोज १५ गते कोहलपुर पठाईएकी ती महिलाको आइतवार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार ३३ साताको गर्भवति रहेकै बेला सेती अस्पताल धनगढीमा भर्ना गरिएपछि एक छोरा र एक छोरी गरी दुई जना बच्चा जन्माएकी ती महिलाको सुत्केरी हुनुअघि र पछि दुबै अवस्थामा अत्याधिक रक्तश्राब भएपछि कोहलपुर रिफर गरिएको थियो ।

सम्पर्क व्यक्ति श्रेष्ठले सेती अस्पतालमै कोरोना परीक्षण गर्दा संक्रमित भएको नतिजा आएको र उनको अवस्था गम्भीर हुँदै गएपछि असोज १५ गते साँझ ४ बजे शिक्षण अस्पताल कोहलपुर ल्याएर भर्ना गरि उपचार भैरहेको तथा उपचारका सबै विधि अपनाउँदा पनि आइतवार विहान ४ः३० बजे उनको मृत्यु भएको बताए गाेरखापत्रमा समाचार छ । उनले ती महिलालाई कोहलपुर ल्याउँदा उनी बेहोस रहेको जानकारी कोहलपुर शिक्षण अस्पतालले गराएको पनि बताए ।