दुल्लुका ९० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

सुर्खेत – दैलेखको दुल्लु नगरपालिका मा आर्थिक रूपमा विपन्न तथा शैक्षिक पहुँच सुदृढ गर्ने उद्देश्यसहित ९० जना बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

आवाज संस्थाको आयोजनामा दुल्लु नगरपालिका–११, १२ र १३ का ३०÷३० जना गरी कुल ९० जना बालबालिकालाई प्रति विद्यार्थी ४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । वितरण गरिएका सामग्रीमा विद्यालय झोला, स्कुल ड्रेस, जुत्ता, कपी, पेन, क्यालकुलेटर, ज्यामिति बक्स, सिसाकलम र सिसाकलम कटर लगायत नौ प्रकारका सामग्री समावेश रहेका थिए ।

कार्यक्रममा बालसुलभ केन्द्रका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवाला गरी १६१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता दुल्लु नगरपालिकाकी उपप्रमुख बिना कार्कीले गर्नुभएको थियो, भने प्रमुख अतिथिका रूपमा नगरप्रमुख भरत प्रसाद रिजाल सहभागी थिए ।

साथै वडा नं. ११, १२ र १३ का वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रिजालले आवाज संस्थाले बालबालिकाको अधिकार, शिक्षा तथा संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताए । यस्ता सामाजिक अभियानलाई नगरपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, उपप्रमुख कार्कीले संस्थाले लैङ्गिक हिंसा न्यूनीकरण, बालविवाह अन्त्य तथा बालअधिकार प्रवद्र्धनका क्षेत्रमा सञ्चालन गर्दै आएका कार्यक्रम उदाहरणीय रहेको बताउँदै संस्थाप्रति धन्यवाद व्यक्त गरे । उनले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, अभिभावक तथा अन्य सरोकारवालाहरूले पनि आवाज संस्थाले समुदायस्तरमा सञ्चालन गरेका बालकेन्द्रित कार्यक्रमहरूको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरणले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई विद्यालय शिक्षामा निरन्तरता दिन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार उक्त कार्यक्रमको मुख्य उद्देश्य आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका बालबालिकालाई विद्यालयमा नियमित अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराउनुका साथै बालमैत्री समाज निर्माणमा टेवा पु¥याउनु रहेको जनाएको छ ।