वीरेन्द्रनगरको विकास र सुशासनमा मिडियाको भूमिका अपरिहार्य : नगरप्रमुख ढकाल

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सुशासन, पारदर्शिता र उत्तरदायी शासन प्रणालीको आधारशिला बलियो बनाउन स्वतन्त्र र जिम्मेवार मिडियाको भूमिका अपरिहार्य रहेको बताएकी छन्।

प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले आयोजना गरेको ‘स्थानीय तहमा सुशासन प्रवर्द्धन र विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्र राज्यको महत्वपूर्ण साझेदार भएको उल्लेख गरिन्। नागरिकलाई सही सूचना उपलब्ध गराउँदै सरकारलाई जवाफदेही बनाउने काम मिडियाले गर्दै आएको भन्दै उनले तथ्यमा आधारित पत्रकारितालाई नगरपालिकाले सदैव सम्मान गर्ने प्रतिबद्धता जनाइन्।

उनले पत्रकारिता क्षेत्रले भोगिरहेका चुनौतीप्रति नगरपालिका संवेदनशील रहेको उल्लेख गर्दै सञ्चार माध्यमको प्रवर्द्धन, पत्रकार सुरक्षाको प्रत्याभूति तथा मिडिया क्षेत्रलाई संस्थागत रूपमा सबल बनाउने नीतिगत व्यवस्था थप प्रभावकारी बनाइने बताइन्।

“नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई उत्तरदायी बनाउने र राज्यका गतिविधिलाई जनतासामु पारदर्शी रूपमा प्रस्तुत गर्ने कार्य मिडियाबाट मात्र सम्भव हुन्छ,” उनले भनिन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन बिसीले पत्रकारहरू दुर्गम क्षेत्रसम्म पुगेर नागरिक र सरकारबीच सूचना आदान–प्रदानको पुलको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए। पत्रकारको क्षमता विकास, सुरक्षा र स्थानीय सञ्चार संस्थाको दिगोपनामा लगानी गर्नुपर्ने उनको भनाइ थियो।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य याम शर्माले स्थानीय तहले सञ्चार क्षेत्रलाई दीर्घकालीन विकासको साझेदारका रूपमा लिनुपर्ने धारणा राखे। सूचना प्रविधिमा लगानी, पत्रकारलाई नियमित तालिम, अनुसन्धानमूलक पत्रकारिता र सामग्री उत्पादनमा सहयोग गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकार महासंघसँग सहकार्य गरेर सञ्चार क्षेत्रलाई थप सुदृढ बनाउन स्थानीय सरकार अग्रसर हुनुपर्ने बताए।

प्रेस चौतारी नेपाल सुर्खेतका जिल्ला अध्यक्ष मुना हमालले पत्रकारिता क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताइन्। संघीय सरकारले हालै गरेका निर्णयका कारण मिडिया क्षेत्र अन्योलमा परेको दाबी गर्दै उनले प्रदेश र स्थानीय सरकारले सञ्चारमैत्री कार्यक्रममार्फत पत्रकारिता क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने सुझाव दिइन्।

अन्तरक्रियामा सहभागी पत्रकारहरूले पनि लोकतन्त्रको सुदृढीकरणका लागि तीनै तहका सरकार मिडियामैत्री बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सञ्चार क्षेत्रलाई प्रभावित गर्ने संघीय सरकारका निर्णय तत्काल पुनरावलोकन गरी स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्न माग गरेका थिए।

कार्यक्रममा सुर्खेतमा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्य बलियो बने मात्रै सुशासन, पारदर्शिता र विकासका लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न सकिने निष्कर्ष व्यक्त गरेका थिए।