
सुर्खेत – जिल्लाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल नौ अर्ब ७३ करोड ९१ हजार रुपैयाँ बराबरको बजेट ल्याएका छन् ।
संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । सोही अनुसार जिल्लाका सबै स्थानीय तहले आफ्नो बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक बजेटमा कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाह, आर्थिक समृद्धि, सूचना तथा सञ्चार प्रविधि, महिला तथा युवा सशक्तीकरण, पर्यटन प्रवद्र्धन तथा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
अधिकांश स्थानीय तहले विगतका कार्यक्रमलाई निरन्तरता दिएका छन् भने अधिकांश पालिकामा पुँजीगत खर्चको तुलनामा चालु खर्चको हिस्सा बढी देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाले भने पुँजीगत बजेटलाई प्राथमिकता दिएको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बुधबार सम्पन्न १९ औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले प्रस्तुत गरेको बजेटमा चालुतर्फ एक अर्ब ६८ करोड ३१ लाख ८९ हजार र पुँजीगततर्फ तीन अर्ब दुई करोड ७० लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटमध्ये ३६ प्रतिशत चालु तथा ६४ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी, बैंक मौज्दात र सामाजिक सुरक्षा अनुदानलाई स्रोतका रूपमा राखिएको नगरपालिकाले जनाएको छ ।
गुर्भाकोट दोस्रो ठूलो बजेट ल्याउने पालिका
वीरेन्द्रनगरपछि सबैभन्दा बढी बजेट ल्याउने पालिका गुर्भाकोट नगरपालिका बनेको छ । गुर्भाकोटले आगामी आर्थिक वर्षका लागि एक अर्ब आठ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालुतर्फ ६० करोड रुपैयाँ तथा पुँजीगततर्फ ४८ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
यस्तै बराहताल गाउँपालिकाले ६३ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये ६८ प्रतिशत चालु तथा ३२ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । चौकुने गाउँपालिकाले ६० करोड ७४ लाख १६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये चालुतर्फ ४० करोड ८६ लाख ६६ हजार र पुँजीगततर्फ १९ करोड ८७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सिम्ता गाउँपालिकाले ६० करोड ६४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ४४ करोड ४१ लाख १६ हजार र पुँजीगततर्फ १६ करोड २३ लाख १४ हजार रुपैयाँ छुट्याइएको छ । गाउँपालिकाले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारलाई प्राथमिकता दिएको जनाएको छ ।
चिङ्गाड गाउँपालिकाले ४४ करोड ४६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये ३३ करोड एक लाख ८१ हजार रुपैयाँ चालु र ११ करोड ४४ लाख ५२ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
त्यस्तै पञ्चपुरी नगरपालिकाले ६९ करोड ६२ लाख ३४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लेकवेशी नगरपालिकाले ६९ करोड ३९ लाख २४ हजार ६ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ, जसमा चालुतर्फ ४६ करोड ४१ लाख ९१ हजार ६ सय रुपैयाँ र पुँजीगततर्फ २२ करोड ९८ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
भेरीगंगा नगरपालिकाले असार ३ गते नै करिब ४३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरे पनि संघीय अनुदानको अन्तिम सिलिङ प्राप्त नभएकाले कुल बजेटको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।
जिल्लाका अधिकांश स्थानीय तहले चालु खर्चलाई उच्च प्राथमिकता दिएको देखिए पनि विकास निर्माण, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारमुखी कार्यक्रमलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनको प्रभावकारिता र विकास निर्माणको गति स्थानीय तहहरूको मुख्य परीक्षा बन्ने देखिएको छ ।