पञ्चपुरीका युवाको हातमा खेलसामग्री, मनमा विपद् सचेतना

पञ्चपुरी, सुर्खेत – जिल्लाको पञ्चपुरी नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय युवाहरूको जमघट खेलमैदानमा बढ्न थालेको छ । कतै भलिबलको नेट तान्दै त कतै फुटबल मैदानमा दौडधूप भइरहेको देखिन्छ, भने कतै क्रिकेट र ब्याडमिन्टनका गतिविधिले गाउँघरमा उत्साह थपेको छ ।

तर यो उत्साह खेलकुदमा मात्रै सीमित छैन । युवाहरूको हातमा खेलसामग्रीसँगै विपद् सचेतना, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावना पनि विस्तार हुँदै गएको छ । आवाज संस्था र टिडिएच जर्मनीको साझेदारीमा सञ्चालित परियोजनाले पञ्चपुरी नगरपालिकाका ११ वटै वडामा “जलवायुजन्य विपद् रोकथाम तथा प्रतिकार्य समूह” गठन गरी युवाहरूलाई समुदायको विकास र सुरक्षासँग जोड्ने अभियान अघि बढाइएको हो ।

महिला, बालबालिका तथा विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकारप्रति सचेत बनाउने र सरकारी सेवामा पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको यस परियोजनाले अहिले युवालाई परिवर्तनका संवाहकका रूपमा स्थापित गर्न थालेको छ । युवाहरूलाई लागूपदार्थ दुव्र्यसन तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राख्ने उद्देश्यले परियोजनाअन्तर्गत विभिन्न वडामा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन लगायतका खेलसामग्री वितरण गरिएको छ ।

वडा कार्यालयहरूको समन्वयमा सम्पन्न सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि, युवा सञ्जाल, बाल क्लब तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायाका अनुसार खेलकुदले युवाहरूलाई शारीरिक रूपमा सक्रिय बनाउने मात्र नभई अनुशासन, सहकार्य र नेतृत्व क्षमता विकास गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसले खेलकुदमा संलग्न युवा समाजका सकारात्मक शक्ति बन्नुका साथै दुव्र्यसनको जोखिमबाट पनि जोगिन सक्ने उनले बताए ।

खेलसामग्री प्राप्त गरेपछि युवाहरूमा देखिएको उत्साहले परियोजनाको प्रभावकारितालाई थप पुष्टि गरेको छ । सहभागीहरूले यस्ता कार्यक्रमले किशोर–किशोरीहरूको आत्मविश्वास बढाउने, नेतृत्व क्षमता विकास गर्ने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने बताएका थिए ।

विपद्सँग जुध्न सिक्दै नयाँ पुस्ता

कर्णाली क्षेत्र बाढी, पहिरो, वन डढेलो तथा अन्य जलवायुजन्य विपद्को उच्च जोखिममा पर्ने क्षेत्रमध्ये एक हो । यही यथार्थलाई मध्यनजर गर्दै परियोजनाले युवाहरूलाई विपद् तयारी र प्रतिकार्यसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने योजना बनाएको छ ।

प्रत्येक वर्ष २५ जना युवालाई समेटेर विपद् अनुकरण तालिम सञ्चालन गरिनेछ । तीन वर्षको अवधिमा ७५ जना युवाले विपद्को समयमा कसरी सुरक्षित रहने, उद्धार कार्यमा कसरी सहयोग गर्ने र समुदायलाई कसरी सचेत गराउने भन्ने विषयमा प्रत्यक्ष अभ्याससहितको तालिम प्राप्त गर्नेछन् ।
परियोजनाले स्थानीय सरकारसँगको सहकार्यमा विपद् प्रतिकार्य सामग्री किट खरिद गरी सम्बन्धित वडा कार्यालयहरूमा भण्डारण गर्ने व्यवस्था पनि मिलाउँदैछ । विशेष गरी विपद्को उच्च जोखिममा रहेका चार वडालाई प्राथमिकतामा राखेर आवश्यक सहयोग प्रदान गरिने योजना छ ।

परियोजनाको महत्वपूर्ण पक्ष युवाहरूलाई आफ्नै समुदायको जोखिम पहिचानमा सहभागी गराउनु हो । समूहमा आबद्ध युवाहरूले बाढी, पहिरो तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूको पहिचान गरी सामुदायिक जोखिम नक्सा तयार पार्ने सामाजिक परिचालक रोकायाले बताए ।

उनका अनुसार यस प्रक्रियाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानहरूको जानकारी दिनुका साथै विपद्को समयमा द्रुत प्रतिकार्य योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । जोखिम नक्सांकनमा युवाहरूको प्रत्यक्ष सहभागिताले उनीहरूमा जिम्मेवारीबोध र समुदायप्रतिको अपनत्वसमेत बढाएको उनी बताउँछन् ।

वृक्षारोपणबाट वातावरण संरक्षण

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले परियोजनाले वृक्षारोपण कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । पञ्चपुरी नगरपालिका–१० अन्तर्गत जामु र बाघबजार क्षेत्रमा करिब एक हजनार २०० बिरुवा रोप्ने तयारी भइरहेको छ ।

यो अभियानको नेतृत्व पनि युवाहरूले नै गर्नेछन् । वृक्षारोपणले वातावरण संरक्षण, भूक्षय नियन्त्रण तथा हरित क्षेत्र विस्तारमा योगदान पु¥याउने विश्वास गरिएको छ । साथै, युवाहरूलाई वातावरणीय उत्तरदायित्वप्रति सचेत बनाउने अवसरका रूपमा समेत यसलाई हेरिएको छ ।

खेलकुद, विपद् तयारी, जोखिम नक्सांकन र वृक्षारोपण जस्ता यी सबै गतिविधिको केन्द्रमा पञ्चपुरीका युवा सक्रिय छन् । परियोजनाले उनीहरूलाई कार्यक्रमका सहभागी मात्र नभई समुदायको नेतृत्व गर्ने सक्रिय नागरिकका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ ।

सामाजिक, मानसिक र वातावरणीय रूपमा युवालाई सशक्त बनाउने उद्देश्यसहित अघि बढेको यो अभियानले पञ्चपुरीमा सकारात्मक परिवर्तनको नयाँ आधार निर्माण गरिरहेको छ । स्थानीय समुदायको दीर्घकालीन सुरक्षा, उत्थानशीलता र दिगो विकासका लागि युवाहरूको यही सक्रियता भविष्यको बलियो जग बन्न अपेक्षा छ ।