
सुर्खेत – सदभाव प्रवद्र्धन र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न दवाव स्वरुप मानव अधिकार तथा शान्ति समाजले दुई वटा अभियान प्रक्षेपण गरेको छ ।
पुष २५ गतेदेखि सद्भाव प्रवद्र्धनको आग्रह सहित शान्ति समाजका जिल्ला शाखाहरुले प्रदर्शन प्रारम्भ गरेका छन् । शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सद्भाव हाम्रो जीवनधारा र सहिष्णुता हाम्रो स्वाभिमान भन्दै पुष २५ गते समाजको अछाम र सल्यान शाखाले प्रदर्शन गरेका हुन् ।

यस्तै पुष २६ गते समाजको काठमाडौं, रुपन्देही र पाल्पा लगायत शाखाले प्रदर्शन गरेका छन । समाजका केन्द्रीय महासचिव प्रकाश शाहीका अनुसार प्रदर्शनमा, समाजलाई तोड्न होईन जोड्नका लागि योगदान गरौं र समाज रुपान्तरणका लागि चालक शक्ति सदैब अहिंसा हुनुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।
‘समाजमा अराजकता होईन, हिंसा र घृणा खारेज गरौं । अहिंसा, शान्ति र सद्भाव प्रवद्र्धन गरी दिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध कायम राखौं’ उनले भने, ‘स्थायी शान्तिको आधार नै सद्भाव सहित घृणा र प्रतिशोध मुक्त सामाजिक संजाल प्रयोगमा जोड दिन जरुरी छ ।’
उनका अनुसार सामाजिक संजाल लगाएत सूचना प्रविधिको विबेक सम्मत प्रयोग गरौँ लगाएतका नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएका थिए । यसैगरी मानव अधिकार तथा शान्ति समाजले ३० जिल्लामा ‘शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता’ बिषयक नागरिक संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।
पुष २९ गते चितवनबाट शुरु हुने कार्यक्रममा प्रमुख वक्ता समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल लगायत नागरिक अगुवाहरु सहित राजनीतिक समाज, नागरिक समाज, बुद्धिजीवीहरुको सहभागिता रहने शान्ति समाजले जनाएके छ ।