काक्रेविहारले ल्यायो ‘कर्णाली याक्स’ अत्याधुनिक बस, सुर्खेत–काठमाडौंका लागि सेवा सुरु

सुर्खेत – पश्चिम नेपालमै पहिलो पटक सुर्खेत काक्रेविहार यातायात प्रा.लि ले सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत ‘कर्णाली याक्स’ नामक अत्याधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ ।

सोमबार वीरेन्द्रनगरमा औपचारिक उद्घाटन गर्दै उक्त बस सेवा सञ्चालन भएको घोषणा गरिएको हो । सोफासेटको सिट, सुत्न मिल्ने सुविधा र कम इन्धन खपत हुने अशोक लेल्यान्डको भाइकिङ डबल एयर सस्पेन्सन प्रविधियुक्त बस सेवा सुरु गरिएको छ ।

यात्रुहरूको बढ्दो सुविधा र सुरक्षित तथा आरामदायी यात्राको आवश्यकतालाई मध्यनजर गर्दै सुर्खेत काक्रेविहार यातायात प्रा. लि.को स्वामित्वमा रहेको ‘कर्णाली याक्स’ नामक अत्याधुनिक बस सेवा सुरु भएको हो ।

काक्रेविहार यातायात प्रा. लि.का अध्यक्ष रमेश सापकोटाले बस सेवा उद्घाटन गर्दै क्रिकेटको प्रचारका लागि पनि बसको नाम ‘कर्णाली याक्स’ राखिएको बताए । उनका अनुसार पश्चिम नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको यो बसमा सोफासेट सहितका अत्यन्त आरामदायी सिट जडान गरिएको छ ।

४५ सिट क्षमताको बसमा चार जना यात्रुले सुत्न मिल्ने विशेष सुविधा समेत रहेको उनले जानकारी दिए । लामो दूरीका यात्रुका लागि लक्षित गर्दै ल्याइएको यो बस यात्राको क्रममा थकान कम हुने र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्यले डिजाइन गरिएको हो । प्रति बस एक करोड १४ लाख रुपैयाँ मूल्यपर्ने यस अत्याधुनिक सवारी साधनमा २२५ हर्सपावर क्षमताको इन्जिन प्रयोग गरिएको छ ।

आईएमई मोटर्स कम्पनी लिमिटेड प्रा. लि.का प्रतिनिधि गंगाराज भुर्तेलका अनुसार यस्तो क्षमताको बस नेपालमा पहिलो पटक भित्र्याइएको हो । हालसम्म कुनै पनि कम्पनीले यस्तै प्रविधियुक्त बस नेपालमा नल्याएको उनको दावी छ ।

काक्रेविहार यातायात प्रा. लि. ले यस अघि ३४ वटा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइसकेको छ । वातावरणमैत्री र इन्धन बचतलाई प्राथमिकतामा राख्दै ल्याइएको यो बसले सुर्खेत–काठमाडौँ करिब ६५० किलोमिटर दूरीमा अन्य बसको तुलनामा १० देखि १२ हजार रुपैयाँसम्म इन्धन बचत गर्ने बताइएको छ ।

सरकारले तोकेको भाडादरमै यात्रुले यो सुविधा सम्पन्न बस चढ्न पाउने व्यवस्था गरिएको छ । यात्रुलाई तोकिएको समयमै सुरक्षित रूपमा गन्तव्यमा पु¥याउने समितीले प्रतिबद्धता गरेको छ ।

आगामी पुस २५ गतेदेखि विराट यातायातसँगको सहकार्यमा सुर्खेतदेखि काकडभिट्टासम्म नियमित यातायात सेवा सञ्चालन हुने यातायात प्रा.लिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । उनका अनुसार यसले कर्णालीबाट पूर्वी नेपालसम्मको यात्रालाई पनि थप सहज, सुरक्षित र आरामदायी बनाउने अपेक्षा गरिएको छ ।