विराटनगर – कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
सुनसरीको इटहरीबाट उपचारका लागि ल्याइएका वृद्धको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको हो । उनलाई बुधबार नै अस्पतालमा भर्ना गरिएको थियो । उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलका अनुसार वृद्धको मृत्यु बुधबार १२ः३५ बजे भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल ल्याइएको थियो ।
यसैगरी बुधबार बिहान नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोसी अस्पतालको कोभिड कक्षमै बुधबार बिहान ४ बजे मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । ( अनलाईखबर)