
कालिकोट – जिल्लाको रास्कोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई छलेर ठुला चारपांग्रे सवारी साधानबाट कर असुल्दै आएको छ ।
नगरपालिकाले २०७६ सालबाट नगरपालिका प्रवेश गर्ने गाडीबाट कर असुली गर्दै आएको हो । यसबारे जिल्ला प्रशासनले निर्देशन दिएपछि बिचमा केही समय कर असुल्ने काम रोकिएको थियो ।तर फेरी २०७९ यता नियमित कर असुल गर्दै आएको सवारी चालकहरुले बताएका छन् ।
यातायात व्यवसायीको विरोधबिच नगरपालिका प्रमुख धर्मराज शाहीको निर्देशनमा नगर प्रहरीले गाडीबाट कर उठाउँदै आएको छ । कर नलिन जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्राचार गर्दै आएपनि त्यसको सुनुवाइ गरिएको छैन । रास्कोट नगरपालिकाले जिल्ला प्रशासनलाई छलेर कर उठाउने गरेको हो ।
नगरप्रमुख धर्मराज शाहीले जिल्ला प्रशासनलाई आफूहरूले गाडी प्रवेश कर असुल गर्न बन्द गरिसकेको पत्र पठाएको बताए । तर नगर प्रहरीले निरन्तर गाडीबाट कर उठाउँदै आएको व्यवसायीले बताएका छन् । रास्कोट नगरपालिका–८ का व्यवसायी विशाल धमलाले अहिले पनि गाडीबाट प्रवेश कर लिने गरिएको बताए । उनीहरुले जिल्ला प्रशासनमा कर नउठाउन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् । तर नगरपालिकाले अटेर गर्दै कर असुल गरिरहेको उनको दावी छ ।
यता जिल्ला प्रशासन कार्यालय कालिकोटले कर असुल गर्ने काम बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले पत्र मार्फत गाडीबाट प्रवेश कर लिने काम बन्द गरेको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । तर नियमित कर असुल्दै आएको खण्डमा कानुनी प्रक्रियामा जानुको विकल्प नभएको उनको भनाइ छ ।
नगरपालिका प्रवेशद्वार कर्णाली कोरिडोरको सान्नीघाटमा नगर प्रहरीलाई ब्यारेल राख्न लगाएर नगरपालिकाले कर उठाउन थालेको चार वर्ष बितिसकेको छ । त्यसअगाडिको स्थानीय सरकारले पनि केही महिना कर उठाएको थियो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा समेत नगरपालिका प्रवेश गर्ने गाडीबाट कर लिने गरेको तर त्यसको आम्दानी कतै नदेखिएको उल्लेख छ ।
कर लिने गरेको सडक पहिलो ग्रामीण पहुँच कार्यक्रम र पछि कर्णाली प्रदेश सरकारको बजेटबाट निर्माण भएको हो । अहिले उक्त सडक कालोपत्रेको प्रक्रिया समेत प्रदेश सरकारको बजेटबाट भइरहेको छ । तर नगरपालिकाले भने आफूखुसी मालवाहक गाडीको एक पटक प्रवेश गरेको पाँच सय र यात्रुवाहकको सुरुमा प्रतिगाडी दुई सय रुपियाँ लिँदै आएको थियो ।
अहिले भने प्रतिव्यक्तिको शुल्क लिने गरेको छ । त्यसले गर्दा यात्रुवाहक गाडीधनी निकै मर्कामा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले प्रशासनको पत्र नगरपालिकामा आएको बताए । यसबारे नगरपालिकाले कर लिने÷नलिने विषयमा छलफल चलेको उनको भनाइ छ ।