नापी कार्यालयका सर्भेक्षकलाई कारवाहीको तयारी

सुर्खेत – नापी कार्यालय मेहलकुना सुर्खेतले सर्भेक्षक मेनका खड्कामाथि कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले खड्कालाई कारवाहीका लागि ३० दिने अन्तिम स्पष्टीकरण माग गरेको हो ।

कार्यालयको हाजिरी अभिलेख अनुसार खड्का २०८० असार ४ गतेदेखि बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी समयदेखि अनुपस्थित रहेको पाइएको छ । यसअघि पटक–पटक पत्राचार गर्नुुका साथै सफाइ पेश गर्न पत्र काटिए पनि कुनै प्रतिक्रिया नआएको कार्यालयले जनाएको छ ।

यसअघि नापी विभागको पत्रानुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको छ । नापी कार्यालयको असार ३० गतेको निर्णय बमोजिम निजामती सेवा ऐन, २०४९ अनुसार खड्कामाथि अनुशासनिक कारवाही योग्य कसुर ठहरिने मंगलबार जारी सूचनामा उल्लेख छ ।

कार्यालयले निजामती सेवा ऐन बमोजिम “भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने” सजाय किन नलगाउने भन्ने विषयमा स्पष्टीकरण माग गरेको जनाएको छ । निजामती सेवा ऐन, २०४९ को दफा ६६ तथा निजामती सेवा नियमावली, २०५० को नियम ११० अनुसार आवश्यक सफाइको अन्तिम मौका प्रदान गरिएको जनाएको छ ।

यसअघि १५ र ३० दिने दुवै अवधि दिएर पत्रहरू पठाइएको भएपनि खड्काबाट कुनै प्रतिक्रिया नआएपछि कार्यालयले अन्तिम चेतावनीस्वरूप ३० दिने स्पष्टीकरण प्रकाशित गरेको हो । नापी कार्यालयले खड्कालाई ३० दिनभित्र उपस्थित भई स्पष्टीकरण दिन आग्रह गरेको छ । तोकिएको समयमा स्पष्टीकरण नआएमा निजामती सेवा ऐन र नियमावली बमोजिम कारबाही प्रक्रिया अगाडि बढ्ने चेतावनी कार्यालयले दिएको छ ।