प्रदेश अस्पताल व्यवस्थापनमा सकस, अधिकारविहीन निमित्तको भर

सुर्खेत – दैनिक हजारौँ नागरिके प्रदेश अस्पताल सुर्खेतमा सेवा लिन धाउने गर्दछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको यस अस्पतालबाट लाखौँ नागरिकले वार्षिक उपचार सेवा लिँदै आएका छन् । तर पछिल्लो समय प्रदेश अस्पताल आर्थिक अधिकारविहीन निमित्त निर्देशककै भरमा चलिरहेको छ । यसले अस्पताल व्यवस्थापनमा निकै सकस परेको छ । आर्थिक अधिकारविहीन निर्देशकको जिम्मेवारी हाल डा। गणेश थापाले सम्हालेका छन् ।

उनले आर्थिक अधिकार नपाएका कारण अस्पतालले अस्पताल व्यवस्थापनमा सकस पर्नुका साथै कुनैपनि नयाँ सामाग्री खरिद गर्न सकेको छैन्। अस्पतालमा आवश्यक पर्ने सामानदेखि औषधि खरिद हुन नसक्दा अस्पतालको सेवा प्रभावित हुने अवस्थामा छ । आर्थिक अधिकार दिने वा नयाँ नियुक्ति दिनेबारे विभागीय निकाय सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पतालको समस्या नदेखेझैँ गर्न थालेको कर्मचारीको भनाइ छ । यही अस्पताल व्यवस्थापनमा ध्यानदिन नसकेको प्रदेश सरकारले अस्पतालाई प्रतिष्ठान बनाएर चलाउन नसक्ने भन्दै आलोचना हुन थालेको छ ।

अस्पतालका निर्देशक डा। केशरबहादुर ढकाल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा बढुवा भई साउन १ गते मन्त्रालय गएपछि अस्पताल निर्देशकविहीन हुनपुगेको हो । उनी असार २४ गतेसम्म अस्पतालमा हाजिर थिए । तर उनी हुदाँ पनि अस्पताल व्यवस्थापन पक्ष कमजोर नै थियो । हाल अस्पताललाई अति आवश्यक सामग्रीहरू उधारोमा खरिद गरिनुपर्ने अवस्था सिर्जना भइरहेको कार्यरत कर्मचारीको भनाइ छ । अस्पताल प्रशासनका अनुसार कर्मचारीको तलब, करार नवीकरण, सामग्री खरिद लगायतका कार्यमा समस्या भइरहेको छ ।

यो पहिलोपटक मात्र होइन । अस्पताल गत कात्तिकमा पनि निर्देशकविहीन बनेको थियो । तत्कालीन निर्देशक डा। डम्बर खड्का सेवानिवृत्त भएपछि डा। थापालाई नै निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो । पछि मंसिर २ गते डा। केशर ढकाल नियुक्त भए पनि आठ महिनामै उनी पनि बढुवा भएर अन्यत्र सरुवा भएका थिए । यता प्रदेश अस्पतालमा अब निर्देशक बन्नका लागि एघारौँ तहका तीन जना, दशौँ तहका तीन जना डाक्टर छन् । अस्पताल स्रोतका अनुसार प्रदेशमातहत रहेका डा। सुजन सापकोटा दशौँ तहमा कार्यरत रहेका छन् भने बाँकी चारै जना डाक्टरहरू कामकाजका लागि कर्णाली आएका हुन् ।

तीमध्ये पनि डा। गणेश थापा एघारौँ तहका हुन् । उनी विगत १९ वर्षदेखि प्रदेश अस्पताल कालागाउँमा कार्यरत छन् । राजनीतिप्रति खासै रुचि नराख्ने कर्णालीबाहिरका डाक्टर भएकै कारण उनी बारम्बार निमित्त निर्देशक बन्नेगरे पनि अस्पतालको निर्देशक बन्ने अवसरबाट वञ्चित भइरहेका छन् । कर्णालीमा काम गर्न नचाहने, कर्णाली भनेर सरुवा हुँदा नाक खुम्च्याउने, आफू कारबाहीमा परेर आएको ठान्ने प्रवृत्ति हावी भएको समयमा कर्णालीमा १९ वर्षदेखि काम गर्दै आइरहेका डा। थापा अहिले प्रदेश अस्पतालमा कार्यरत सबैभन्दा वरियतामा पहिलो नम्बरमा छन् ।

यसअघि पनि प्रदेश अस्पतालमा केन्द्रबाटै कामकाजका लागि खटिएका डाक्टरहरू नै निर्देशक बन्दै आइरहेका थिए । धेरै इमान्दार र कसैको चाप्लुसी नगरेकै कारण उनी निर्देशक बन्नबाट वञ्चित हुनुपरेको बताइएको छ । प्रदेश अस्पतालमा एघारौँ तहमा आँखारोग विशेषज्ञ डाक्टरको रूपमा शक्ति सुवेदी कार्यरत छन् । उनी हाल प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रमुखको रूपमा २ वर्षदेखि कर्णालीमा कार्यरत छन् । उनी पनि प्रदेश अस्पताल कालागाउँको निर्देशक बन्न योग्य छन् । तर बनाइँदैन् ।

यस्तै दुई वर्षबढी समयदेखि एनेस्थेसिया विशेषज्ञ डा। पूजन बल्व पनि प्रदेश अस्पतालमा कार्यरत छन् । उनी पनि एघारौँ तहकै हुन् । तर प्रदेश अस्पतालको निर्देशकको रूपमा भने डा। गणेश थापा र शक्ति सुवेदीमध्ये एक जना हुने प्रबल सम्भावना भएको स्रोतको दाबी छ । लामो समय स्वास्थ्य सेवा निर्देशकको रूपमा कार्यरत डा। रविन खड्का दशौँ तहका डाक्टरमध्ये सबैभन्दा वरिष्ठ हुन् । कर्णालीमा विगत सात वर्षदेखि कार्यरत उनी प्रशासनिक हिसाबले निर्देशक हुँदा अस्पतालको नेतृत्व गर्न निकै सक्षम मानिन्छन् । दशौँ तहमै हाडजोर्नी विशेषज्ञ डा। विकास केसी दुईपटक गरेर झण्डै पाँच वर्ष कर्णालीमा बिताइसकेका छन् ।

यस्तै मेहलकुना अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टका रूपमा कार्य गरिरहेका डा। सुजन सापकोटा अहिले प्रदेश अस्पताल आएका छन् । उनी यहाँ आएको एक वर्ष पुग्न लागेको छ । यता सामाजिक विकासमन्त्री घनश्याम भण्डारी अबको केही दिनभित्र एघारौँ तहबाटै निर्देशक नियुक्ति हुने बताउँछन् । विगतमा केहिदिन मन्त्रालयमा सचिव नभएको कारण काममा ढिलाइ भएको भन्दै सचिव आएकाले छिट्टै प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

उनका अनुसार यो समयमा मन्त्रालयको समीक्षा लगायतका कामहरू सम्पन्न भएका छन् भने मन्त्रालयले निर्देशक नियुक्तिको लागि फाइल मन्त्रिपरिषद्मा लैजाने तयारी छ । मन्त्रिपरिषद्ले नयाँ निर्देशक तोक्नेछ । निर्देशक तोक्न ढिलाइ हुनुमा अन्य कुनै कारण नभएको मन्त्रालयले जनाएको छ ।