सुर्खेत – वीरेन्द्रनगरमा सम्पन्न मैत्रिपूर्ण ह्वीलचियर बास्केटबल प्रतियोगितामा ह्वाइट टिम विजयी भएको छ । एसोएस हर्मन माइनर स्कुलको खेल मैदानमा भएको प्रतियोगितामा ब्लु टिमलाई १ गोलले पछि पार्दै ह्वाइट टिम विजयी भएको हो ।
स्पाइनल इन्जुरी संघ सुर्खेत र सेफ द चिल्ड्रेनको आयोजनामा भएको प्रतियोगितामा ह्वीलचियर बास्केटबल कर्णाली प्रदेशको टिममा आवद्ध खेलागीहरुले भाग लिएका थिए । अपांगता भएका व्यक्तिहरुले पनि केही गर्नसक्छन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेलाडी तथा स्पाइनल इन्जुरी संघका दिव्यराज खड्काले जानकारी दिए ।
खेलाडी तथा ह्वीलचियर बास्केटबल कर्णाली प्रदेश टिमका क्यापटन धर्मराज रावलले अपांगमैत्री भौतिक संरचना नहुँदा सास्ती खेप्नुपरेको बताए । १५ वर्ष नेपाल आर्मीमा सेवा गरेका उनी अपांगता भएपछि त्रिभुवन आर्मी क्लवमा बसेर ह्वीलचियर बास्केटबल खेलेका थिए । पछि आर्मी क्लव छोडर कर्णाली फर्किएका उनले आफ्नो नेतृत्वमा प्रदेशको ह्वीलचियर बास्केटबल टिम तयार पारेका हुन् ।
हाल कर्णालीको ह्वीलचियर बास्केटबल टिमले राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिदै आएको रावलले बताए । ‘आर्मीमा खेलेको अनुभवले कर्णालीमा पनि टिम तथा गर्नुपर्छ भन्ने सोच आयो । त्यही टिम तयार भयो । अहिले म भन्दा पनि धेरैले राम्रो खेल्नुहुन्छ’ उनले भने, ‘घरभित्रै ह्वीलचियरमा बसेकाहरु बास्केटबल खेल्न घर बाहिर निस्किन थालेका छन् । यसले शाररिक स्वस्थ्तासँगै मानसिक तनाव मुक्त पनि बनाएको छ ।’
खेलाडी तथा स्पाइनल इन्जुरी संघ सुर्खेतकी कोषाध्यक्ष बिस्नुकुमारी शाहीले अपांगता हुने वित्तिकै केहि गर्न सक्दैनन भन्ने गलत सोच रहेको बताइन् । ‘म अपांगता भएको पाँच वर्ष भयो । सुरुमा के कसरी जिउने ? बच्चा र श्रीमान हुनुहुन्छ भन्ने पीरचिन्ता थियो’ उनले भनिन्, ‘जब पछि म संस्थासँग जोडिएर बास्केट बल खेल्न लागे त्यसपछि झन आत्मबल बलियो भयो । त्यसैले अहिले खेलका माध्ययमबाट सबैसँग भेट भइरहेको छ ।’
प्रतियोगितामा खेलाडीहरुलाई हौसला दिदै लेखक तथा डाक्टर नवराज केसीले सकरात्मक सोच र आत्मबलका साथ अघि बढे हरेक उपलब्धि हाँसिल गर्नसकिने बताए । ‘समाजमा म र मेरो मात्रै भन्ने चलन छ । यसले अहमता देखाउँछ भने स्वयंम व्यक्ति पनि असफलता लगत्तै कडा तनावमा जानसक्छ’ उनले भने, ‘हामी र हाम्रो भन्नुहोस्, तनावमुक्त रहनुहोस् धेरै रोग आफै हट्छन्, बिरामी भएर औषधि खाइरहनु पर्देन ।’
सेफ द चिल्ड्रेनका आयूस जोशीले अपांगता भएका व्यक्तिहरुलाई पनि समाजमा समान अवसर दिनुपर्ने बताए । नकरात्मक सोचलाई सकरात्मक बनाउन युवा र बालबालिका मार्फत सेफ द चिल्ड्रेनले विभिन्न सचेतनाका कार्यक्रम जारी राखेको उनको भनाइ छ ।