पचाल झरना पर्यटकीय गन्तव्यमा सूचीकृत

कालिकोट – नेपालको सबभन्दा अग्लो झरनाका रुपमा परिचित कालिकोटको पचाल झरनालाई सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । सूचीकृत भएसँगै अब पचाल झरनाका बारेमा क्युआर कोडबाट पनि जानकारी लिन सकिने छ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमध्ये पचाल झरनालाई ६४ औं स्थानमा सूचीकृत गरिएको छ । झरनाको प्रचार–प्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्युआर कोड बनाएर पर्यटन बोर्डले पचाल झरना गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

पालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतका अनुसार क्युआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको छ । भने एउटा क्युआर गाउँपालिकालाई हस्तान्त्रण भएको छ । गाउँपालिका उपाध्यक्ष अल्किना बमले क्युआर कोडको फ्रेम बुझेकी हुन् । यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुने उनको भनाइ छ । पचाल झरना पुुग्न बाटो, होमस्टे र प्रतीक्षालय बनाइएको उनले बताइन् ।

पचाल झरना गाउँपालिका–३ मा पर्ने पर्यटकीय स्थल पचाल झरना ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ । त्यसअघि नेपालको सबैभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको छ ।

समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको ठाउँमा थोरै ठोक्किएको लम्बाइ जोड्दा पचाल झरनाको लम्बाइ ४१५ मिटर पुुग्ने गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले जानकारी दिए । तर पचाल झरनाको नापजाँच गर्दा ३८१ मिटर अग्लो रहेको उनले बताए । उनका अनुसार बीचमा झरना ठोक्किएको भाग जोड्दा ४१५ मिटर अग्लो हुन्छ ।

पचाल झरनामा पुग्न कर्णाली करिडोरको लाफागाडबाट तीन घन्टा पैदल र एक घन्टा गाडीमा पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुंगी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइन्छन् । पर्यटकलाई खान, बस्न खार्दु गाउँका पाँच घरमा होमस्टे पनि सञ्चालन भएका छन् ।

झरनासम्म पुग्नका लागि रेलिङसहितको गोरेटो बाटो निर्माण गरिएको छ । पचाल झरनासम्म पुग्ने सडक, पैदल मार्ग, सूचना केन्द्रलगायतका पूर्वाधार विकासका लागि १२ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।