
सुर्खेत – कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पदभार ग्रहण गरेको एक वर्ष पुरा भयो ।
मन्त्री भण्डारीले यो एक वर्षको अवधिमा सम्पादन गरिएका प्रमुख क्रियाकलाप समावेश गरी ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नामक समिक्षात्मक पुुस्तक सार्वजनिक गरेका छन् । मन्त्री भण्डारीको सचिवालयले विहिबार पत्रकार सम्मेलन मार्फत पुुस्तक सार्वजनिक गरेको हो ।
उनी दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेश सभामा निर्वाचित भई नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको निर्णय बमोजिम २०८१ साउन २० गते मन्त्री बनेका थिए ।
पुुस्तकमा उल्लेख भएअनुसार मन्त्रीको एक वर्षको समयावधीमै तीन जना सचिव फेरिँदा संस्थागत स्थायित्व र कार्यसम्पादनको दृष्टिले स्थायी सरकारका रूपमा चिनिएको निजामती सेवाको विशिष्ट श्रेणीका सचिवको अस्थायी प्रवृत्तिको सामना गर्नुपरेको थियो ।
मन्त्री भण्डारीले भने, ‘उमेर हदका कारण सचिवहरू निजामति सेवाबाट निवृत्त हुनुभएको थियो । सचिवको फेरबदलले राजनीतिक–प्रशासनिक सहकार्यमा जटिलता ल्याउनुका साथै प्रशासनिक अनिश्चितता देखिएको छ । जसबाट कार्यसम्पादनमा संरचनागत, नीतिगत, व्यवस्थापकीय र मनोवैज्ञानिक तहमा विविध प्रभावहरू परेका छन् ।’
उक्त प्रभावहरू सकारात्मक, नकारात्मक वा मिश्रित प्रकृतिका रहेको मन्त्री भण्डारीले बताए । जनसेवामूलक मन्त्रालयका हिसाबले यस मन्त्रालयप्रति राजनीतिक एवम् प्रशासनिक नेतृत्वहरू गम्भीर हुन आवश्यक देखिएको उनको भनाइ छ ।
कर्णाली प्रदेशको सामाजिक आर्थिक रूपान्तरण गर्ने मन्त्रालयको दिर्घकालीन सोच अनुरूप ३९ वटा कार्यालयहरू मार्फत सेवा प्रवाह हुुदै आएको छ । तर सिमित स्रोतसाधन, जनशक्ति र निश्चित समयमा उल्लेख्य कार्य गर्ने दृढ ईच्छा बमोजिम मन्त्रीस्तरबाट गर्नुपर्ने कार्यजिम्मेवारीलाई पूरागर्ने कोशिस गरिएको मन्त्री भण्डारीले बताए ।
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन चालुु आर्थिक वर्ष २०८२/८३ को सुरूवात मै साउन ११ गते नै वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन स्वीकृत भई कार्यान्वयनमा आएको छ । मन्त्रालयले डेङ्गि रोग नियन्त्रण गर्न श्रावन महिना डेंगी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान अन्तर्गत लार्भा खोज र नस्ट अभियान सञ्चालन गरिरहेको छ ।
भने प्रदेश अस्पताल सुर्खेतमा मृगौला तथा कलेजो प्रत्यारोपण सेवा जस्ता कामलाई मन्त्रालयले उपलब्धिका रुपमा लिएको छ । कडा रोगमा मेजर अपरेशन गरेका १३१ जना बिरामीलाई प्रति बिरामी एक लाख सम्मको उपचार सहायता प्रदान गरिएको छ । आगामी आर्थिक वर्षमा कडा रोगमा नयाँ रोगहरू थप गरी रकम उपलब्ध गराईने तयारी छ ।