सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले प्रदेश सरकारको कारणले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भन्दै अब मिति तोक्दा नसर्ने गरि तोक्नुुपर्ने बताए ।
दशौ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसंगको छलफलमा उनले यस्तो बताएका हुन् । मु्ख्यमन्त्री कंडेलले पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश प्रवाह गरेको बताए । अब त्यस्तो गल्ती नदोहोर्याउन सघीय सरकारलाई उनको आग्रह छ ।
उनले भने, ‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फवाट हामी प्रतिबद्व छौ र त्यही अनुसार तयारी पनि गरिरहेका छौ तर आयोजक तपाइहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला ।’
मुख्यमन्त्री कंडेलले मिति तोक्दा संघीय र प्रदेशको जिममेवारीसिहत स्पष्ट तालिका बनाउन आग्रह समेत गरे । प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका कमजोरी दोहिरन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने उनले बताए । उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी जनाए । उनले भने, ‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासो सहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्रीलाई उनले सुझाव दिए । उनले भने, ‘केहि दिन तपाईहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरि काम गर्नुस भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्स्प्रिड पनि त्यहि हो ।’
अर्को प्रसंगमा मुख्यमन्त्री कडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषदका रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक सघीय सरकारले नै निर्माण गर्ने भएपनि दशौ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पू्र्वाधार निर्माण गरेको बताउदै मुख्यमन्त्री कडेल थप पूर्वाधार बनाउने कुरामा सघीय सरकारले सहजीकरण गर्नुपर्ने बताए ।
युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्नेगरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे । उनले सुर्खेत आसपास हुने गरि प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको जानकारी गराए । छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो ।