स्वास्थ्यकर्मीहरूको सुरक्षाको सुनिश्चितता गर्न माग

सुर्खेत – सुर्खेतका स्वास्थ्यकर्मीहरू सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् । नेपाल चिकित्सक संघ, सुर्खेत शाखाले स्वास्थ्यकर्मीहरू सुरक्षाको सुनिश्चितता गर्न माग गर्दै सोमबार सुर्खेत जिल्ला भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाका बहिरङ्ग सेवा बन्द गर्न आह्वान गरेको थियो ।

नेपाल चिकित्सक संघ केन्द्रीय समितिद्वारा घोषित कार्यक्रम अनुसार सुर्खेतमा पनि स्वास्थ्य संस्थाका बहिरङ्ग सेवा बन्द गर्न आह्वान गरिएको हो । नेपाल चिकित्सक संघ, सुर्खेतका अध्यक्ष डा. विकास के सी र महासचिव डा.सुशील ससदर्शीले हस्ताक्षर गरेको आह्वान पत्रमा बहिरङ्ग सेवा बन्द गर्ने उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘आम नागरिकलाई असुविधा नहोस् भन्ने हाम्रो चाहना हो, तर स्वास्थ्यकर्मीहरूको सुरक्षाको सुनिश्चितता नगरी यस्ता घटनाहरु दोहोरिन नदिन तर्फ सबैले गम्भीर ध्यान दिन जरुरी छ । सम्बन्धित निकायलाई तत्काल गम्भीर ध्यानाकर्षण गराउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक नीति तथा कानुनी संरचना तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछौं ।’

साथै सम्पूर्ण सरकारी तथा नीजी अस्पताल, पोलिक्लिनिक, अफिन, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्यकर्मी संघ यूनियन, सम्पूर्ण पेशागत स्वास्थ्यकर्मी तथा सम्पूर्ण क्लिनिकहरुलाई ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ ।

साथै संघको यस कदमबाट आम नागरिकहरुलाई पर्ने असरप्रति दुःख व्यक्त गर्दै सोको जिम्मेवार नेपाल सरकार स्वयम् रहेको जानकारी गराएका छन् । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा पटक पटक आन्दोलन हुने र त्यसका एक प्रमुख हिस्सा चिकित्सकहरू नै पटक पटक आन्दोलनमा उत्रनु पर्ने अवस्था आउनु कुनै पनि सभ्य र विधिको शासन भएको मुलुकका निम्ति राम्रो होइन ।

तर यो अवस्था पटक पटक आउनुको प्रमुख कारण हाम्रो देशमा व्याप्त कुशासन, विधि हीनता र अराजकता भएको चिकित्सकहरूको तर्क छ । आफ्नो कार्यस्थलमा काम गर्दै गर्दा सुरक्षा भएन, ज्यान नै जोखिममा पर्ने गरी आक्रमण भयो, सुरक्षा देऊ भनेर पनि देशव्यापी आन्दोलन गर्न सरकारले बाध्य पारेको दावी छ ।