कर्णालीका १९ हजार ६६६ जना विद्यार्थी फेल

सुर्खेत – २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीका १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन् । तर प्रदेशभरबाट संस्थागत तथा सामुदायिक विद्यालय गरी ३१ हजार ७७३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

गत वर्ष २०८० को तुलनामा सुधारिएको नतिजा भएपनि सन्तोषजनक भने छैन । गत वर्ष ५८ प्रतिशत विद्यार्थी फेल हुँदा यस वर्ष ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्षको एसईईमा कर्णालीबाट संस्थागत र सामुदायिक विद्यालयबाट ३३ हजार ६३४ विद्यार्थी सहभागी भएकोमा ५८ दशमलव पाँच प्रतिशत अर्थात् १९ हजार ६६६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउँने गरी फेल भएका थिए ।

हालै सार्वजनिक भएको यस वर्षको एसईई नतिजा अनुसार १३ हजार ७३१ विद्यार्थी कक्षा ११ मा पढ्न नपाउँने गरी फेल भएका छन् । यस वर्षको एसईईमा कर्णालीको नतिजा सुधार हुँदा दैलेख भने पुछारमा परेको छ । सबैभन्दा धेरै विद्यार्थी दैलखमा फेल भएका छन् ।

शिक्षा विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार दैलेखबाट ४ हजार ७७५ विद्यार्थीले एसईई दिदा १ हजार ९३ विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् । त्यस्तै सुर्खेतबाट सबैभन्दा बढी ७ हजार ७१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा पास भने ३ हजार ११५ मात्रै भएका छन् । सल्यानबाट ४ हजार ६४ विद्यार्थीले परीक्षा दिदा २ हजार ६७८ जना पास भएका छन् । भने कालिकोटबाट ३ हजार १९५ विद्यार्थी मध्ये १ हजार ८२४ विद्यार्थी माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् ।

त्यस्तै हुम्लाबाट ९३६ विद्यार्थी मध्ये ४८३ विद्यार्थी पास भएका छन् । मुगुबाट ७३१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा ५०५ जना उत्तीर्ण भएका छन् । जाजरकोटबाट ४ हजार ३०० विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ३ हजार ५३१ विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउँने गरी नम्बर प्राप्त गरेका छन् ।

रुकुम पश्चिमबाट २ हजार ५८२ विद्यार्थी उत्तीर्ण भएका छन् । रुकुमबाट ३ हजार ४४५ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यस्तै जुम्लाबाट २ हजार ५१० विद्यार्थी एसईईमा सहभागी हुँदा १ हजार ९०० र डोल्पाबाट ७४६ विद्यार्थी मध्ये २४७ जना पास भएको शिक्षा विकास निर्देशनालयको तथ्यांकले देखाउँछ । निर्देशनालयको तथ्यांक अनुसार प्रदेशभर ३ दशमलव ६ देखि चार जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार ५१ छ ।

त्यस्तै, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४ हजार ६४४, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए प्राप्त गर्ने ७ हजार ७८५, २ दशमलव चारदेखि २ दशमलव ८ जीपीए प्राप्त गर्ने ४४० र २ देखि २ दशमलव ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३०२ रहेको छ ।
सुर्खेतका १० सामुदायिक विद्यालयको नतिजा शून्य

यस वर्षको एसईर्ईमा सुर्खेतका १० सामुदायिक विद्यालय नतिजाविहिन बनेका छन् । यी विद्यालयबाट एसईई परीक्षामा सहभागी १४१ विद्यार्थीले न्यूनतम ३५ अंक प्राप्त गर्न नसकी कक्षा ११ मा पढ्न नपाउँने भएका हुन् । एसईई परीक्षाको नतिजा मूल्यांकन प्रणाली परिवर्तन भएसँगै यी विद्यालयले एक विद्यार्थी पनि पास गराउन सकेनन् ।

राष्ट्रिय परीक्षा बोर्डले २०८० बाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गर्दै आएको छ । जस अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अंक ल्याउनुपर्छ । यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनु पर्ने नयाँ मूल्यांकन प्रणालीले सरकारी विद्यालयको स्तर यस वर्ष पनि मापन गरेको छ ।

ग्रेडिङ (अक्षरांकन) प्रणालीमा बानी परेका सामुदायिक विद्यालय र शिक्षकलाई दुई वर्ष यताको एसईई परीक्षाले निल्नु न ओकल्नु बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७२ देखि २०७९ सम्म लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्दै आएको थियो ।

यस प्रकारको प्रणालीमा सैद्धान्तिकमा झिनो अंक ल्याएका विद्यार्थी पनि प्रयोगात्मकमा विद्यालयले दिने नम्बरका आधारमा पास हुने गरेका थिए । तर बोर्डले कक्षा–११ र १२ को नतिजा खस्किएको भन्दै गत वर्षदेखि सैद्धान्तिक र व्यावहारिक दुवैमा ३५–३५ प्रतिशत अंक ल्याउनुपर्ने नियम ल्याएपछि सामुदायिक विद्यालयको गुणस्तर मापन हुन थालेको छ । यही नियमका कारण सुर्खेतमा मात्रै होइन कर्णालीमै ठूलो संख्यामा सामुदायिक विद्यालयका विद्यार्थी फेल भएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाई सुर्खेतको तथ्यांक अनुसार एसईई परीक्षामा शून्य नतिजा प्राप्त गर्ने विद्यालयहरुमा चिङ्गाड गाउँपालिकाको इन्द्रेणी माध्यमिक विद्यालय गोगने, चौकुने गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनरास, पञ्चपुरी नगरपालिकाको सूर्यज्योति माध्यमिक विद्यालय लामाखाली, लेकवेशी नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय सिमदमार र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुइनेपानी रहेका छन् ।

त्यस्तै बराहताल गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँ वन, वीरेन्द्रनगर नगरपालिकाका आनन्द माध्यमिक विद्यालय कृष्णगंज, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पारेगाउँ, मदरसा मदिना र सिम्ता गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय काँडा सिम्ताले एसईईमा नतिजा निकाल्न सकेनन् ।

एसईईमा सुर्खेत जिल्लाभरबाट ७ हजार ३८ विद्यार्थी सहभागी भएको अधिकांश सामुदायिक विद्यालयले ५० प्रतिशत विद्यार्थी पास गराउन सकेनन् । सुर्खेतबाट ४ जीपीए अंक ल्याउने विद्यार्थीको संख्यासमेत न्यून छ । जिल्लाभर १ जनाले मात्रै ४ जीपीए प्राप्त गरेका छन् ।