
सुर्खेत – दसैँ, तिहार र छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुरक्षा योजना लागू गरेको छ । यस योजना अन्तर्गत जिल्लाभर विभिन्न ड्युटीमा ८५० जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि, झैझगडा,चोरी, लुटपाट तथा सवारी दुर्घटना न्यूनीकरण गरी आम नागरिकलाई सुरक्षित महसुस गराउने उद्देश्यले योजना ल्याइएको हो ।
योजनाअनुसार, २७ जना प्रहरीलाई कमाण्ड पोष्ट तथा जिल्ला रिजर्भमा राखिनेछ भने मोबाइल गस्तीका लागि ५० जना जनशक्ति खटिनेछन् । मोटरसाइकल गस्ती र आकस्मिक कारबाही ९स्ट्राइकिङ० का लागि ६४ जना प्रहरी परिचालन गरिनेछ ।
सुरक्षा जाँचलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा २८३ जना प्रहरी पिकेट ड्युटीमा खटिनेछन् भने संयुक्त, नियमित तथा आकस्मिक चेकिङका लागि ७१ जना प्रहरी खटिनेछन् ।
सूचना सङ्कलनलाई प्राथमिकता दिँदै सादा पोसाकमा ११ जना प्रहरी परिचालन गरिनेछ । यात्रुहरूलाई सहयोग पुर्याउन २७ जना प्रहरी यात्रु सहायता कक्षमा रहनेछन् ।
महत्त्वपूर्ण प्रतिष्ठान, सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू र आर्थिक कारोबार हुने स्थानहरूमा गस्ती गर्न तथा झैझगडा, जुवातास, चोरी, लुटपाट जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न १४४ जना प्रहरी खटिनेछन् ।
बजार अनुगमन, मातहत अनुगमन तथा आकस्मिक सभा, जुलुस, धर्ना लगायतका कार्यक्रममा तत्काल परिचालन हुनका लागि ५५ जना प्रहरी तैनाथ रहनेछन् ।
यसैगरी, कार्यालय सुरक्षाका लागि ११६ जना प्रहरी जनशक्ति छुटाइएको छ । यसरी कुल ८५० जना प्रहरी जनशक्तिलाई फरक–फरक जिम्मेवारी तोकी जिल्लाभर शान्ति सुरक्षा सुदृढ गर्ने लक्ष्य राखिएको डीएसपी बुढ्थापाले बताए ।
चाडपर्वको समयमा बजारमा हुने कालोबजारी, म्याद गुज्रेका वस्तुको बिक्री वितरण नियन्त्रण गर्न र यात्रुहरूलाई सहयोग पुर्याउन बजार अनुगमन टोली र यात्रु सहायता कक्ष समेत परिचालन गरिनेछ । सादा पोसाकमा खटिने प्रहरीले सूचना सङ्कलन गरी शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्याउनेछन् ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर सुर्खेतमा पर्छ । राजधानी समेत रहेकाले अन्य स्थानभन्दा सुर्खेतमा आपराधिक गतिविधि हुने जोखिम बढ्छ ।