जुम्ला – जुम्लामा असोज महिनामा मात्र भालुको आक्रमणमा परी पाँच जना घाइते भएका छन्। जुम्लाको गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकामा छुट्टाछुट्टै भालुले आक्रमण गरेर मानिसलाई घाइते बनाएको हो।
सोमबार बिहान १०ः४० बजे जुम्ला तातोपानी गाउँपालिका वडा ४ निवासी १८ बर्षीय दिपेन्द्र न्यौपानेलाई स्याउको बगैचामा गोडमेल गर्न गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार न्यौपानेको हाल कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ।
यता, आइतबार विहान जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटकी ३८ वर्षीया बुमची कामी र उहाँकी १७ वर्षीया छोरी सिर्जना कामी भालुको आक्रमणबाट घाइते भएका छन्। आमा गम्भीर घाइते र छोरी सामान्य अवस्थामा छन्।
प्रहरीका अनुसार, उनीहरू दुवैजना घाँस काट्न गएका बेला जंंगली भालुले असोज १९ गते विहान ७ः३० बजे आक्रमण गर्दा घाइते भएका हुन्। घटनापछि तत्काल स्थानीयको सहयोगमा दुवैजनालाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।
गुठिचौर गाउँपालिका ५ धिता गाउँमा दिउँसो १ बजे एक जनालाई भालुले आक्रमण गरेको छ। गुठिचौर गाउँपालिका झ्यापु धिताललाई आक्रमण गरेको छ। धितालको पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक कमल थानीका अनुसार तातोपानी ४ का दिनेश न्यौपानेको टाउको, वायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ। परिवारको आग्रहमा उहाँलाई जिल्ला बाहिर लग्ने तयारी भएको छ।
उनका अनुसार गुठिचौर गाउँपालिका निवासी आमा बुमची कामीको पनि टाउको, मुखमा भालुले मासु लछारेर घाइते बनाएको छ।
यसैगरी जुम्लाको हिमा गाउँपालिका–५ निवासी ३४ बर्षका हरिचन्द्र रोकायालाई बाख्रा चराउन गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको छ। रोकायाको हातमा घाउ भएको र कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ। केही समय अगाडि चन्दननाथ नगरपालिका ३ मा पनि भालुले आक्रमण गरेर ११ बाख्रा मारेको थियो।
स्थानीयवासीले वन क्षेत्रमा जंगली जनावरहरूको आक्रमण बढ्दैगएकाले नियमित गस्ती र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। प्रहरी र वन विभागको टोली घटनास्थल पुगेर अनुसन्धान तथा नियन्त्रण कार्यमा खटिने भएको छ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले आजभोलि जंगलनजिक काम गर्न ढिला जान आग्रह गरे। भालु विहानै निस्कने भएकाले सचेत हुन आग्रह गर्नुभयो । उहाँले काम गर्न समूहमा जान सुझाव दिए।