सुर्खेत – कर्णाली प्रदेशका ६ जिल्लामा रहेका दलित समुदायका बालिकाहरुलाई २७ लाख ९६ हजारको छात्रावृत्ति रकम वितरण गरिएको छ ।
मानव अधिकार तथा शान्ती समाजद्धारा संचालित ३ वर्षे कर्णाली केन्द्रित छात्रवृत्ति कार्यक्रम अन्तर्गत उक्त रकम वितरण गरिएको हो । दलित समुदायका बालिकाहरुलाई २७ लाख ९६ हजारको छात्रावृत्ति रकम वितरणसँगै उक्त कार्यक्रम पनि जेठको अन्तिम साता सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८० बाट सुरु भएको यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष ६ जिल्लाका ८४ जना दलित समुदायका बालिकाले छात्रावृत्ति पाएका थिए । यस्तै २०८१ मा घटेर ७९ जनाले छात्रावृत्ति पाउँदा २०८२ मा ७० जना दलित समुदायका बालिकाले छात्रावृत्ति पाएका छन् ।
विभिन्न कारणले बालिकाहरुले विद्यालय छोड्दा छात्रावृत्ति पाउनेको संख्या प्रत्येक वर्ष घटेको हो । बालिकालाई कक्षा ६,७ र ८ सम्म अध्ययन गर्न जनहि १२ हजारका दरले ३ वर्षसम्म छात्रावृत्ति प्रदान गरिएको थियो । ३ वर्षको कुुल छात्रावृत्ति रकम २७ लाख ९६ हजार वितरण गरिएको छ ।
छात्रावृत्ति पाउनेमा कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका १० वटा विद्यालयमा अध्ययनरत अतिविपन्न परिवारका दलित छात्राहरु रहेका छन् । उनीहरुलई उक्त छात्रवृत्ति रकम वितरण गरिएको हो । ‘छोरी पढाऔंः गरिमा बढाऔं’ भन्ने मुख्य नारा रहेको उक्त छात्रवृत्ति अभियानले दलित समुदायका छात्राहरुलाई ३ वर्ष मात्रै भएपनि पढाई खर्चमा टेवा पुर्याएको थियो ।
नेपालको संविधानले आधारभुत तहसम्मको शिक्षालाई अनिवार्य तथा निशुल्क हुने व्यवस्था छ । तर यो व्यवस्था सर्वसुलभ र सर्वसाधारणको पहुुँचमा नहदाँ कर्णाली केन्द्रित छात्रवृत्ति वितरणको दोस्रो वर्ष ५ जना र तेस्रो वर्षसम्म आउँदा १४ जना बालिकाहरुले बिद्यालय छोडेको तथ्यांक छ । विद्यालय छोडेका बालिकाहरु घरायसी काम तथा आफ्ना बा–आमा संगै छिमेकी मुलुक भारतमा काम गर्न गएको पाइएको छ । भने कतिपयले बालविवाह गरेर पढ्न छोडेका छन् ।
बालिकाहरुको पढाई निरन्तरताका लागि संचालित छात्रवृत्ति कार्यक्रमकोबिचमै १४ जनाले विद्यालय छोड्नु पक्ष रहेको शान्ती समाजका महासचिव प्रकाश शाहीले बताए । ‘कर्णालीमा दलित समुदायमा बालबिवाह कहालि लाग्दो अवस्थामा छ । कतिपयलाई गरिबिका कारण बिचमै विद्यालय छोड्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको पाइयो’ उनले भने, ‘छात्रवृत्ति कार्यक्रम राज्यलाई थप उत्तरदायी र जिम्मेवार बनाउन उदाहरण स्वरुप संचालन गरिएको थियो । राज्यका निकायहरुले दलित छात्राहरुको पढाई निरन्तरताका लागि ठोस योजना तथा कार्यक्रम ल्याई विशेष सहयोग पुर्याउन आग्रह छ ।’
कर्णाली केन्द्रित छात्रवृत्ति रकम शान्ति समाजका ८० जना सदस्य तथा शुभ चिन्तकहरुबाट संकलन भएको उनले जानकारी दिए । कर्णाली केन्द्रित छात्रवृत्ति कार्यक्रम निरन्तरताका लागि समाजले एउटा स्थायी अक्षयकोष स्थापना गरेको थियो । सो कोषबाट अतिविपन्न परिवारका बालवालिकालाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको थियो । जसका लागि हालसम्म १८ लाखको प्रतिवद्धता रकम आईसकेको महासचिव शाहीले बताए । उनका अनुसार सम्पुर्ण मनकारी दाताहरुलाई उक्त छात्रवृत्ति अक्षयकोष निर्माण कार्यमा जोडीन आग्रह गरिएको छ ।