काठमाडौं – गत मंगलबार चितवनमा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक बैठकबाट महिला र पुरुष क्रिकेट खेलाडीको ग्रेडिङ लिस्ट सार्वजनिक भयो । पुरुषमा १८ जना समावेश हुँदा पहिलो पटक भएको महिला खेलाडीको ग्रेडिङमा १९ जना समावेश थियो ।
त्यसलगत्तै क्रिकेटवृत्तमा यस ग्रेडिङलाई लिए विभिन्न टिका टिप्पणी भए । खेलिरहेका खेलाडी ग्रेडिङमा छैनन् भने खेल्दै नखेलेका खेलाडी ग्रेडिङमा परेका छन् ।
यसलाई लिएर राष्ट्रिय टिमका खेलाडीकै असन्तुष्टि रहेको छ ।
खेलाडीहरुसँग सल्लाह नै नगरी क्यानले ग्रेडिङ सार्वजनिक गरेको उनीहरुको गुनासो छ । राष्ट्रिय पुरुष टिमका खेलाडीहरुले क्यानको ग्रेडिङमा असन्तुष्टि जनाउँदै क्यानलाई ध्यानाकर्षण पत्र पठाइसकेको छ । महिला खेलाडीहरुले पनि शुक्रबार क्यानमा ध्यानाकर्षण पत्र पठाएको छ ।
क्यानले जुन खेलाडीका लागि ग्रेडिङ गर्यो त्यही खेलाडीहरुले नै अन्तुष्टी जनउँदै क्यानमाथि नै प्रश्न उठाएका छन् । राष्ट्रिय टिमका निवर्तमान कप्तान तथा अलराउण्डर पारस खड्काले सम्बन्धित निकायमा जानकारी गराएको र के आधारमा कसरी ग्रेडिङ गरियो भन्ने जवाफ पनि उनीहरुले नै दिनुपर्ने बताए । ‘पाउनुपर्ने मान्छेले पाउनुपर्ने कुरा पाउनुपर्यो भन्ने हो । अब क्यानबाट के प्रतिक्रिया आउँछ हेर्न बाँकी छ ।’ खड्काले भने ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले खेलाडीहरुले ध्यानाकर्षण गर्दै पत्र क्यानमा पठाएको पुष्टि गरे । ‘खेलाडीहरुले ग्रेडिङबारे ध्यानाकर्षण गराएका छन् । अब यसबारे छलफल हुनेछ । आगामी साधारणसभा भन्दा अघि नै यस विषयमा छलफल हुनेछ,’ चन्दले भने, ‘त्यसपछि के गर्ने भन्ने थाहा हुनेछ ।’ चन्दले अहिले नै के हुन्छ भन्न नसकिने बताए ।
महिला र पुरुष खेलाडीले क्यानसँगै क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल सिप्यानमा पनि ग्रेडिङबारे ध्यानाकर्षण गर्दै पत्र पठाएको छ । यसबारे सिप्यानले पनि छलफल गर्ने सिप्यानका महासचिव पारस खड्काले बताए ।
राष्ट्रिय पुरुष टिमका एक सदस्यले राष्ट्रिय टिममा खेलीरहेका खेलाडी ग्रेडिङमा नपर्ने र नखेलेका खेलाडी ग्रेडिङमा परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय महिला टिमका एक सदस्यले क्यानले गरेको खेलाडी ग्रेडिङबाट आफू आश्चर्यमा परेको बताइन् । ‘सुरुमा त मैले यो त्यतिकै आएको होला भन्ने ठाने । तर त्यही नै अन्तिम लिस्ट रहेछ,’ ती खेलाडीले भनिन्, ‘ग्रेडिङ त आयो तर एकदमै आश्चर्यजनक आयो ।’
खेलाडीहरुको ग्रेडिङ गर्दा टिम कप्तानसग पनि कुनै छलफल नै नभएको पाइएको छ ।
खेलाडी ग्रेडिङको विषयमा क्यान र ग्रेडिङ गर्ने समितिबीच नै अन्योलता देखिएको छ । छनोट समितिले आफ्नो काम गरिसकेको र बोर्डले अनुमोदन गरिसकेको हुनाले आफूहरुले केही गर्न नसक्ने छनौट समितिका पदाधिकारीहरु बताउँछन् । उता क्यानका पदाधिकारीहरु भने छनोट समितिले गरेको कामको अनुमोदन गर्ने काम बोर्डले गरेको बताउँछन् ।
क्रिकेट जानकारहरु भने आफ्नो स्वार्थ र दबावमा परेर खेलाडीको ग्रेडिङ गरिएको र यो निष्पक्ष नभएको बताउँछन् ।
पुरुषतर्फ २०१९ भर राष्ट्रिय टिममा खेलेका ललित नारायण राजवंशी नपर्नु आश्चर्यको रुपमा रहेको छ । यस्तै पहिलो पटक गरिएको महिला ग्रेडिङमा पनि धेरै त्रुटि देखिएको छ । महिलातर्फ राष्ट्रिय टिममा पछिल्लो वर्ष नखेलेका रितु कनोजिया, कविता जोशी, शोभा आले, अनुराधा चौधरी जस्ता खेलाडीलाई ग्रेडिङमा समावेश छन् । तर राष्ट्रिय टिममै रहेका ममता चौधरी, शान्ति खतिवडा, सरस्वती चौधरी जस्ता खेलाडी भने ग्रेडिङमा समावेश भएका छैनन् ।
खेलाडिको ग्रेडिङ गर्ने समितिको मान्छे भन्दा बाहिरका क्रिकेट जान्ने भनिने मान्छेले ग्रेडिङ गरेका कारण अहिले यस्तो नतिजा देखिएको एक खेलाडीले बताए ।
उता खेलाडीहरुले अरुले उचालेको भरमा ग्रेडिङबारे ध्यानाकर्षण पत्र पठाएको क्यानका एक पदाधिकारीले आरोप लगाए ।
क्यानले ग्रेडिङबारे आगामी साधारण सभामा छलफल गर्ने त भनेको छ । त्यसमा केही होला कि भन्ने खेलाडीको आशा छ ।
क्यानले वर्ष २०२० को ग्रेडिङ वर्षको सुरुमै गर्नुपर्नेमा वर्ष सकिन ४ महिना बाँकी हरँदा ग्रेडिङ लिस्ट सार्वजनिक गरेको छ । यसमा कोभिड१९ लाई दोषी देखाइएको छ ।
अब २०२१ मा क्यानले नयाँ ग्रेडिङ गर्ने जनाएको छ । अहिले गरिएको ग्रेडिङ २०२० डिसेम्बरसम्म मात्र लागू हुनेछ । वर्ष सकिन लागेको र यस वर्ष क्रिकेट गतिविधि खासै हुन नसक्दा आफ्नो स्वार्थ अनुसारको काम क्यानले गरेको खेलाडीको गुनासो छ ।
पुरुषको ग्रेडिङमा परेका १८ खेलाडी
ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, बसन्त रेग्मी, करण केसी र विनोद भण्डारी ।
ग्रेड बी : आरिफ शेख, सोमपाल कामी, पवन सराफ र सुशन भारी ।
ग्रेड सी : अभिनाश बोहोरा, रोहित पौडेल, कुशल मल्ल र कमल सिंह ऐरी ।
महिलाको ग्रेडिङमा परेका १९ खेलाडी
ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी ।
ग्रेड बी : ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर ।
ग्रेड सी : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले । (अनलाईनखबर)