गुलमोहरले वीरेन्द्रनगरको सौन्दर्य बढायो, फोटो खिच्नेको भिड

वीरेन्द्रनगर – हिजोआज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर क्षेत्र गुलमोहरले सिंगारीएको छ । वीरेन्द्रनगरका भित्रि सडक छेउमा ढकमक्क फुलेका गुलमोहरले सबैलाई आकर्षित बनाएको छ ।
यहाँ आउनेहरू जो सुकै ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउने गर्दछन् । हरेक दिन फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । गुलमोहरले वीरेन्द्रनगरको सौन्दर्यतामा थप शोभा बढाएको छ ।

गुलमोहरसँग तस्बिर खिच्न आएकाहरु ख्ुसी हुदै सुर्खेत उपत्यकालाई गुलमोहरले गुलजार बनाइदिएको बताउँछन्ु । धेरैजसोको फेसबुक तथा टिकटकमा गुलमोहरसँगका तस्बिर, भिडिओहरू देख्न सकिन्छ । गुलमोहर हरेक वर्ष वसन्त ऋतुमा फुल्ने गर्छ । वीरेन्द्रनगरका कुहिनेपानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुलमोहरका रुखहरू छन् ।

अघिल्लो वर्ष कर्णाली उत्सवमा भाग लिन आइपुगेका वीरेन्द्रनगरका योजनाकार माधवभक्त माथेमाले गुलमोहरका बिरुवा निकै सङ्घर्षले हुकाईएको बताएका थिए । उनका अनुसार गुलमोहरका बिरुवा ३० को दशकमा भारतको लखनउबाट ल्याइएको हो । त्यसअघि वीरेन्द्रनगरलाई दोभानचौर नामले चिनिन्थ्यो । तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात् ०२९ सालमामा यसको नाम वीरेन्द्रनगर राखियो । तत्कालीन राजा वीरेन्द्रनगरकै सोचमा रहेर माधवभक्ता माथेमाले बनाएको वीरेन्द्रनगरको गुरुयोजना अन्तर्गत अहिले फुलेका गुलमोहर भारतबाट ल्याइएका थिए । माथेका अनुसार ती फुलहरू त्यो वेला १०० रुपैयाँमा ल्याइएका हुन् । उद्देश्य थियो–गुरुयोजना अनुसार वीरेन्द्रनगरको सहरी सौन्दर्यता बढाउने ।

त्यो वेला बनेको गुरुयोजना अनुसार बनेका सडक छेव वरपर हरियाली बनाउनुका साथै सहरको शोभा बढाउनका लागि गुलमोहरको बिरुवा रापिएको माथेमाको भनाइ थियो । त्यो वेला रोपिएका फुलहरूले यतिवेला वीरेन्द्रगरको सौन्दर्यता बढाइरहेका छन् । यस फुललाई फ्रान्समा ‘स्वर्गको फुल’ भनेर भन्ने गरिन्छ । वीरेन्द्रनगर नगरपालिकाले घण्टाघरलाई अहिले निकै व्यवस्थित गरेको छ । घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ । भने नजिकै गुलमोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फुलको अवलोकन गर्ने गरेका छन् । नगर क्षेत्रका सडक छेउमा गुलमोहर लगाएतका बिरुवा रोपेर सहरको सौन्दर्य बढाउने काम जारी रहेको नगर प्रमुख मोहनमाया ढकालको भनाइ छ ।