सुर्खेत – कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा नर्सिङ जनशक्ति अभावका कारण भर्ना गर्नुपर्ने बिरामीलाई समेत फिर्ता पठाउनुपर्ने बाध्यता छ ।
यही बैशाख २ गतेबाट संचालन भएको १२ वेडमा बिरामी भरीएपनि थप बिरामीलाई उपचार सेवा दिन सकस परेको हो । औषधालय प्रमुख लक्ष्मी नारायण तिवारीले कम वेड र नर्सिङ जनशक्ति अभावका कारण थप बिरामीलाई भर्ना गर्न नसकिएको जानकारी दिए । जसले गर्दा भर्ना गर्नुपर्ने खालका बिरामीलाई पनि फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
उनले भने, एकातिर १२ वेडमा बिरामी भरीएका छन् । अर्कोतिर नर्सिङ जनशक्ति अभाव छ । हाल थप १ वेड थपेर १३ वेडबाट सेवा दिइरहेका छौं । वेड खाली नै छैन । तर दिनहुँ बिरामीको चाप बढ्दो छ ।
उनका अनुसार औषधालयमा हाल ३ जना मात्रै नर्सिङ जनशक्ति छ । तर दैनिक ९० जना बढि बिरामी सेवा लिन आइरहेका छन् । त्यसैमा ३ जना नर्सिङ जनशक्ति मध्ये १ जनालाईमन्त्रालयको सचिवालयमा काज खटाउने आदेश आएको उनले बताए ।
अब २ जना नर्सिङ जनशक्तिले २४ सै घण्टा सेवा दिन सम्भव छैन । त्यसैमा १ जना बिरामी भएको वा बिदा बसेको खण्डमा अर्को १ जना नर्सिङ स्टाफको भरमा सेवा दिन सकिदैन’ उनले थपे, ‘बिरामीको चाप अनुसार औषधालयको सेवालाई पनि प्रभावकारी बनाउने हो भने थप नर्सिङ जनशक्ति व्यवस्थापन गर्न जरुरी छ । यसमा प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयको ध्यान जाओस् ।
आयुुर्वेद औषधालयमा एघारौं तहको निर्देशकसहित २६ जनाको दरबन्दी छ । जसमा ४ आयुर्वेद चिकित्सक, ५ जना आयुर्वेद विज्ञ, ३ जना नर्सिङ, २ जना प्रयोगशालाकर्मी र बाँकी अन्य कर्मचारीहरू कार्यरत रहेका छन् । तर उपचार सेवालाई निरन्तर र प्रभावकारी बनाउन नर्सिङ जनशक्ति थप गर्नुपर्ने औषधालयको माग छ । तर यसबारे प्रदेश सरकारले ध्यान दिएको छैन ।
औषधालयमा विभिन्न रोगहरूको आयुर्वेदिक विधिबाट परामर्श र उपचार गरिन्छ । जसमा पाचन, श्वासप्रश्वास, जोर्नी समस्या, मानसिक स्वास्थ्य र छाला रोगजस्ता समस्याहरूको उपचार आयुर्वेदिक विधिबाट गर्ने गरिएको छ । रोगीको शारीरिक र मानसिक अवस्थाका आधारमा व्यक्तिगत परामर्श र उपचार योजना तयार गरिने औषधालय प्रमुख तिवारीले बताए ।
उनका अनुसार कर्णालीका प्राकृतिक स्रोतहरूबाट प्राप्त स्थानीय जडीबुटीहरूको प्रयोग गरी औषधिको उत्पादन गर्न थालिएको छ । प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आयुर्वेदिक औषधिको आपूर्ति सुनिश्चित गर्न प्रदेश आपूर्ति केन्द्रले काम गरिरहेको छ । भने औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति गर्ने योजना छ।
एकातिर औषधालयमा बढ्दो बिरामी चापसँगै थप नर्सिङ जनशक्तिको आवश्यकता खट्किएको छ । भने अर्कोतिर औषधालयको सेवालाई थप व्यवस्थित बनाउने गरी निर्माण कार्य सुरु भएको १५ शैयाको भवन अलपत्र छ ।
औषधालय हाताभित्रै निर्माणधिन भवन निर्माणको जिम्मा कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले लिएको थियो । तर काममा लापारवाही गरेर भवन निर्माण कार्य अलपत्र पारेपछि औषधालयको सेवा प्रवाहमै असर परेको छ ।
भवन निर्माणका लागि पटक पटक म्याद थप गरेर सम्झौता अवधि बढाइन्छ । तर निर्माण कम्पनीले भवन बनाउँदैन । काम नगर्ने ठेकेदारलाई म्याद थप गरिरहने आयोजना कार्यलय र काम नै नगर्ने निर्माण कम्पनी दुुबैको लापारवाही बढ्दो छ । पटक पटक म्याद थपिएपनि निर्माण नै नहुने औषधालयको भवन निर्माण लागि आगामी २०८१ फागुन २९ गतेसम्मको थप सम्झौता म्याद सकिएको छ । तर ठेकेदारले टेरपुछर लगाएका छैनन् ।
पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै रहँदा औषधालयमा कार्यरत कर्मचारी समेत दिक्क भइसकेका छन् । भवननिर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । यो भवन बनाउन निर्माण कम्पनीले संघीय सरकारको १८ करोड २२ लाख बजेटमा ठेक्का सम्झौता गरेको हो । तर भवनको हालसम्म वित्तीय प्रगति २८ प्रतिशत मात्रै भएको छ । भने भौतिक प्रगति ४० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले भवनको ठेक्का आह्वान गरेको हो । उक्त कार्यालयका अनुसारसम्झौता भएको ४ वर्षसम्म पनि काम पुरा भएको छैन । ४२ महिनामा एक तला मात्र ढलान भएको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य समयमा हुन नसकेको कार्यालयको दावी छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परेको हो ।
भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको कार्यालय प्रमुख तिवारीले बताए । औषधालयको सेवा विस्तार भएपनि आवश्यक जनशक्रि र भौतिक पूर्वाधार नहुँदा समस्या परेको उनको भनाइ छ ।यस्तै प्रदेश सरकारले जनरल बेडहरू राख्नका लागि भवन निर्माण गर्न ७० लाख रूपैयाँ विनियोजन गरेको थियो । हरियाली कन्स्ट्रक्सनसँग ४२ लाखमा भवन निर्माणको सम्झौता भई काम सम्पन्न हुने तरखरमा छ । यो भवनमा २० वटा बेड राख्ने तयारी छ । यदि समयमै १५ शैयाको उक्त ३ तले भवन निर्माण भइदिएको भए राज्यलाई दोहोरो भारपर्ने थिएन ।