कर्णालीबाट ३७ हजार बढि विद्यार्थीले एसईई दिदै

सुर्खेत – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशका ३७ हजार ९११ जना विद्यार्थी सहभागी हुदैछन् । शिक्षा विकास निर्देशनालय सुर्खेतले एसईईको लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परिक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी पुुरा गरेको हो । आगामी चैत ७ गतेबाट एसईई सुरु हुदैछ ।

जसमा नियमिततर्फ ३१ हजार ८०४, ग्रेडवृृद्धितर्फ ६ हजार १०७ र प्राविधिकतर्फ १ हजार ३४२ विद्यार्थी सहभागि हुनेछन् । परीक्षाका लागि आवश्यक पर्ने सामग्री सम्बन्धित जिल्लामा पठाइएको निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् ।

तथ्यांक अनुसार यस वर्ष कर्णालीमा एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । गत वर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै २ हजार विद्यार्थीको संख्यामा वृद्धि भएको देखिन्छ । गत वर्ष कुल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी ननग्रेडेड भएका थिए ।

एसईई परीक्षामा प्रदेशभर १८० परीक्षा केन्द्र तोकिएको निर्देशक हमालले बताइन् । जसमा प्राविधिक धारतर्फ १६ वटा परीक्षा केन्द्र तोकिएका छन् । कर्णालीमा यस वर्षको एसईई परीक्षा संचालन गर्न १ करोड ३९ लाख ३० हजार ५०० रुपैयाँ खर्च हुनेछ ।

कर्णालीका १० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदै छन् । सुर्खेतबाट ९ हजार ५१३ विद्यार्थीले एसईई दिनेछन् । यस्तै रुकुमपश्चिममा ३ हजार ६६८, सल्यानमा ४ हजार २६९, हुम्लाबाट १ हजार १०४ जना र मुगुबाट ९४६ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन् ।

त्यस्तै डोल्पामा ७७७ जना, कालीकोटबाट ४ हजार ८९, जुम्लाबाट २ हजार ६८१, जाजरकोटबाट ४ हजार ६६८ र दैलेखबाट ६ हजार १९६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।