सुर्खेत – इजाजत लिएको १५ वर्षसम्म पनि चौकुने सिमेन्ट उद्योगको काम अहिलेसम्म अघि बढ्न सकेको छैन । सुर्खेतको चौकुने गाउँपालिका–६ मा सिमेन्ट उद्योग सञ्चालनका लागि भनेर मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिले इजाजत पाएको नै १५ वर्ष पुगिसकेको छ ।
तर अहिलेसम्म उद्योग सञ्चालनका कुनै काम अघि बढ्न सकेका छैनन् । यो आयोजना ४५ वर्षअघि पहिचान भएको थियो । गाउँपालिका र प्रदेश सरकारले प्रस्तावित सिमेन्ट उद्योगसम्म पहुँच मार्ग पु¥याइसकेका छन् । यद्यपि, उद्योगको काम अघि नबढ्दा गाउँमै रोजगारी पाइने आशमा बसेकाहरू निराश बन्न थालेका छन् ।
खानी तथा भूगर्भ विभागले २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई इजाजत दिएको थियो । तर प्रगति शून्य भएपछि विभागले पहिलोपटक २०७४ मा मुक्तिश्रीको लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि सञ्चालक अजय सुमार्गीले उच्च अदालत पाटनमा चुनौती दिए । अदालतले उनका पक्षमा आदेश दिएपछि विभागले कम्पनी नवीकरण ग¥यो ।
२०३६ सालमा चौकुनेको लखरपाटामा उद्योग स्थापना गर्ने गरी परीक्षण भएको थियो । जसका लागि २०३५ सालमा खानी तथा भूगर्भ विभागले चुनढुंगा र माटो परीक्षण गरेको थियो । कम्पनीले बारम्बार काम शुरू गर्ने आश्वासन मात्रै दिएको गाउँपालिका अध्यक्ष खड्क विक ‘विवश’ले बताए ।
गाउँपालिका अध्यक्ष विकले स्थानीय तहको निर्वाचनताका घोषणापत्र सम्झँदै उद्योग सञ्चालन हुने आशामा युवालाई रोजगारी दिलाउने प्रतिबद्धता ओझेलमा परेको बताए । सिमेन्ट उद्योगले गति लिने आधार नदेखिएको उनको भनाइ छ । उनी कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताउँछन् । गाउँपालिका र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षकै बजेटबाट खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेका छन् ।
उनका अनुसार अलपत्र उद्योग सञ्चालन गर्ने÷नगर्ने सम्बन्धमा गाउँपालिकाले मुक्तिश्रीलाई पत्र लेखेको छ । गत भदौ ११ गते लेखिएको पत्रमा इजाजत पत्र पाएको एक दशक बित्दा पनि चुनढुंगा उत्खनन् कार्य नगरी पटक पटक म्याद मात्र थप्दै आएको भनिएको छ । यति ठूलो आयोजना सञ्चालन हुन नसक्दा चौकुने गाउँपालिका लगायत आसपासका नागरिकहरूको रोजगारी खोसिनुका साथै अन्य विकासमा समेत नकारात्मक असर परेको गाउँपालिकाको दावी छ ।
यसको यथाशीघ्र तथ्यसहित जानकारी दिनु हुन र यदि उद्योग सञ्चालन गर्न सम्भव छ भने उद्योगलाई आवश्यक पर्ने दर्ता जग्गाको हकमा सरकारी नियम अनुसार अधिग्रहण प्रक्रियामा जान हुन र सरकारी ऐलानी जग्गाको हकमा एकमुस्ट जग्गा प्राप्तिको प्रक्रियामा जान हुन पत्रमा अनुरोध गरिएको छ ।
खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । कम्पनीका प्रतिनिधि लोक अधिकारीका अनुसार मुक्तिश्रीले दैनिक एक हजार ५०० देखि पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखाना सञ्चालन गर्न करिब ७ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । तर निर्माणको काम अघि बढ्न सकेको छैन ।
चौकुने गाउँपालिका वडा नम्बर ७ मा अहिले प्लान्ट स्थापना गर्नका लागि भनेर चार सय रोपनी जग्गा खरिद गर्ने योजना बनाइएको उनले बताए । त्यसका लागि पालिकासँग छलफल गरिरहेको जानकारी दिए । केही दिन पहिले कम्पनीका सञ्चालक सुमार्गी चौकुने आएर पनि फर्किएका थिए । तर आयोजना निर्माणको टुुंगो छैन । जग्गाको मूल्य मिलेको खण्डमा माघभित्रै जग्गा खरिद गर्ने र फागुनभित्र जग्गाको भुक्तानी दिने योजना बनाइएको अधिकारीले बताए । आयोजना निर्माणका लागि कम्पनीलाई हरेक वर्ष नवीकरण गर्दै आएको छ ।