तीनै तहका निजामती ऐन र नियमावलीका व्यवस्था संशोधन गर्न माग

सर्खेत – नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले संघ, प्रदेश र स्थानीय तहमा जारी निजामती ऐन र नियमावलीमा भएका व्यवस्थाहरु तत्काल संशोधन हुनुपर्ने माग गरेको छ ।

आइतबार नवनिर्वाचित जिल्ला कार्यसमितिको पूर्ण बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐन र नियमावली तथा कर्णाली प्रदेश स्थानीय सेवा ऐन र नियमावली कार्यान्वयनमा देखिएका जटिलता तत्काल संशोधन गर्न जोडदार माग गर्ने निर्णय गरेको हो ।

सुर्खेत जिल्ला अध्यक्ष सीता कँडेलको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेश सरकारले हालै जारी गरेको स्थानीय सेवा ऐनमा भएका विभेदकारी व्यवस्थाहरु हटाउनु पर्ने माग गरेको हो । आफ्ना मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । बैठकले तीनवटै तहका कर्मचारीहरुको मर्म र भावना समेटिने गरी संघीय निजामती सेवा ऐन जारी गर्नसमेत माग गरेको छ ।
यस्तै, निवर्तमान कार्य समितिका कामहरुको समिक्षा गर्दै संगठनका भावी कार्यदिशाका सम्वन्धमा १२ औ जिल्ला अधिवेशनबाट पारित विभिन्न प्रस्तावहरु कार्यान्वयनका लागि वार्षिक योजना तर्जुमा गरी जिल्ला कार्य समिति सुर्खेतका कामहरुलाई सु–व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्ने निर्णय भएको अध्यक्ष कँडेलले बताइन ।