पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले गरे सरकारको कामको समिक्षा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साढे ५ महिनाको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले १९ सम्पादित कार्य सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री कँडेलले हाल भइरहेका नियमित कार्य सम्पादन र योजना, आयोजनाको कामलाई नै उपलब्धिको रुपमा ठानेका छन् ।

उनले भनेका छन्, ‘प्रदेश सरकार अन्तर्गतका सबै निकायहरूको वार्षिक कार्ययोजना स्वीकृत गराइ कार्ययोजना अनुसार कार्य सञ्चालन गरी समयमै प्रगति हासिल गर्न ९ बुँदे साझा प्रतिबद्धता गरिएको छ । सोही कार्ययोजना अनुसार कार्यसम्पादन भइरहेको छ । कार्ययोजना तथा प्रतिबद्धता अनुसार भौतिक मन्त्रालय र ऊर्जा मन्त्रालय अन्तर्गत ठेक्का लगाउनुपर्ने संख्या ३५१ मध्ये झण्डै ६० प्रतिशतभन्दा बढी आयोजनाको ठेक्का आह्वान भइसकेको छ भने बाँकी ठेक्का आह्वानको अन्तिम चरणमा रहेको छ । जसमा ३१० मध्ये भौतिक पूर्वाधार मन्त्रालयले १० वटै जिल्लाका २१५ वटा आयोजनाको ठेक्का आव्हान गरिसकेको छ ।’