सरकारले जुम्लाको स्याउको बजार सुनिश्चितता गर्नुपर्छ : ज्ञानेन्द्र शाही

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जुम्लाको स्याउले उचित मुल्य नपाउँदा किसान मर्कामा परेका छन् । जुम्लाको स्याउ काठमाडौंमा ७० रुपैयाँ किलोमा पनि नबिक्ने अवस्थामा छ’ उनले भने, ‘मैले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको थिएँ । जसमा दुई वटामध्ये एउटा विदेशी स्याउ र एउटा स्वदेशी स्याउ थियो । त्यो विदेशी स्याउ नखानुहोला सभामुखज्यू ।’

विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको हुने र त्यसले क्यान्सर हुन सक्ने, मानिसको पाचन प्रक्रियामा असर पार्न सक्ने उनले बताए । मानव स्वास्थ्यका लागि हितकर नरहेको विदेशी स्याउ बजारमा पाइने तर, जुम्लामा उत्पादन भएको स्वस्थकर स्याउ बिक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

‘विदेशी स्याउ साढे तीन सय रुपैयाँ प्रतिकिलो नेपालका भाटभटेनीदेखि ठूला ठूला सुपरमार्केटमा बिकिरहेको छ । तर, जुम्लाको स्याउ ७० रुपैयाँ प्रतिकिलो पनि नबिकिरहेको अवस्था छ’ उनले थपे, ‘जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि सिण्डिकेडधारीहरू किन्न तयार छैनन् । यस्तो विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

नेपालमा कृषि मन्त्रालय पनि छ र ? प्रधानमन्त्री पनि हुनुहुन्छ र ? भनेर व्यंग्य गर्दै स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्न उनले आग्रह गरे ।

उनले भने, ‘जुम्लाका किसानले ५० करोड माथिको स्याउ उत्पादन गरेका छन् । तर ६ अर्बको स्याउ विदेशबाट अयात हुने गरेको छ । सरकारले गुणस्तर चेक गरेर त्यसअनुसार स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्छ ।’