स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री भण्डारीको निर्देशन

दैलेख – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नागरिकको स्वास्थ्य सेवामा सबैको हातेमालो हुन जरुरी रहेको बताएका छन।

स्वास्थ्य सेवा कार्यालय दैलेखद्वारा आयोजित आर्थिक वर्ष २०८०/८१ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले संवैधानिक मौलिक हक प्रति राज्यका सबै तह जिम्मेवार हुनपर्ने भन्दै स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा संघ, प्रदेश र स्थानीय तहले एकले अर्कोलाई देखाएर पन्छिने भन्दा पनि हातेमालो गरेर नागरिकलाई सुलभ र सहज सेवा प्रदान गर्न आग्रह गरेका हुन।

ओपिडी सेवाको आधारमा रिफर हुने संख्या बढेको दृष्टान्त बढिरहेको बताउँदै यसतर्फ स्वास्थ्यकर्मी सचेत हुन निर्देशन दिए। पूर्वाधार बनाउने तर्फ सरकारका मुख्य जिम्मामा भएका व्यक्तिहरूको दायित्व भएपनि सेवा प्रदानका हिसाबले ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन्।

कर्णाली प्रदेश स्थित सबै जिल्ला र भूगोल अनुसार रणनीतिक अस्पतालहरू सञ्चालन गर्ने जानकारी दिए। त्यस अनुसार सरकारको लगानी रहने बताए। कर्मचारी सरुवामाथि राजनीतिक चलखेल गर्न नहुने भन्दै त्यसअनुसार खटाइएको स्थानमा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएमा अटेर गर्दा विभागीय कारवाही गरिने समेत चेतावनी दिए।

नारायण नगरपालिका प्रमुख लोमन शर्माले अस्पताललाई ५० शैया बनाउने नीतिगत निर्णय भएपनि अहिले सम्म स्तरवृद्धि हुन नसकेको बताए। दरबन्दी अनुसारको जनशक्ति समेत पाउन नसकेको गुनासो गरे। औषधि आपूर्ति र स्वास्थ्य बीमा मार्फत सेवा पाउने कुराले असहज भइरहेको दृष्टान्त राखे। साथै, अस्पतालले समेत पाउनुपर्ने बीमा दावी रकम समयमा भुक्तानी नहुँदा सेवा अवरुद्ध हुने संकेत देखिएको जानकारी गराए।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अस्पताल सुधारका पहल भइरहेको देखिएपनि नागरिकले सहज तरिकाले सेवा प्राप्त गर्न नसकिरहेको बताए।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष क्षेत्र प्रसाद सुवेदीले जनस्वास्थ्य र अस्पताललाई छुट्टा छुट्टै स्थानमा राखेर कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सुझाव दिए। अस्पताल पूर्वाधार समयमा नबन्दा उपकरण अभाव र जनशक्ति व्यवस्थापनमा समेत असहज भइरहेको बताए।