प्रदेश अस्पताल सुर्खेतमा एमआरआई मेसिन उद्घाटन

दैनिक ८ जना बढिले सेवा लिदै, एकै दिनमा रिपोर्ट उपलब्ध

सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जडिट एमआरआई मेसिन उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार मेसिन उद्घाटन गरेका हुन् ।

एमआरआई मेसिनबाट गत वर्ष भाद्र महिनादेखि बिरामीको उपचार सेवा सुरू गरिएपनि मेसिनको औपचारिक उद्घाटन भने गरिएको थिएन ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनु्सार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

डा. डम्बर खड्काका अनु्सार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार हुदै आएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ । आवश्यक परेको खण्डमा २४ सै घण्टा सेवा दिन अस्पताल तयार छ ।

देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । तर प्रदेश अस्पताल सुर्खेतमा भने एकै दिनमा रिपोर्ट दिन चिकित्सक सक्षम भएका छन् ।

निर्देशक खड्काले भने, ‘अस्पतालले हालसम्म २५ करोड ५९ लाख रकम मौज्दात राख्न सफल भएको छ । केहि आवश्यक उपकरण पनि किनिरहेका छौ । अस्पतालमा कार्यरत कर्मचारीका पाँच जना परिवारको बीमा गर्दा अस्पतालले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने गरेको छ ।’

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको हो । पाँच वर्ष ग्यारेन्टी भएको उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको थियो ।

मेसिन उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीका बिरामीको विश्वास जित्ने गरी एमआरआई सेवा दिन निर्देशन दिए । अस्पतालको सामान्य गल्तिले विरामी र आम नागरिकमा ठुलो असर पर्नसक्ने भन्दै सेवा दिदाँ ध्यान दिन मुख्यमन्त्री कँडेललको सुझाब छ ।

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला कँडेलले भने, ‘प्रदेश अस्पतालका आगामि संरचना विकास र संचालनबारे यो क्षेत्रका विज्ञसँग छलफल गरी अध्ययनपछिको यथार्थ रिपोर्टका आधारमा प्रदेश सरकार अघि बढ्नेछ  । तथ्यले जे बताउँछ सो आभारमा काम गर्न हामी अघि बढ्नेछौं । गर्नैपर्ने काममा सामुहिक निर्णय गर्न सबै तयार हुनुपर्छ । प्रदेश अस्पताल अझै यो भन्दा राम्रो बन्छ र बनाउनु पर्छ, तर कसरी बनाउने भन्ने बारेमा तर्क वितर्क गर्नुभन्दा पनि दिगो उपाय खोजौं ।’

प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार अस्पतालको साथमा रहेको र आवश्यक परे सहयोग गर्ने भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन निर्देशन दिए । उनले भने, ‘एमआरआई सेवाले कर्णालीबाट काठमाडौं सेवा लिन जाने बिरामीको दर रोक्नेछ, बिरामीलाई आर्थिक भार पनि कम हुनेछ । तर मेसिन खरिद भयो मर्मत र संचालनमा ध्यान दिनुहोला । यहाँ खरिद गर्दा हतारीने र मर्मत र संचालनमा ध्यान नदिने चलन छ, यस नहोस् ।’

के हाे एमआरआई ?

चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।

ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ ।

एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ ।