दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीका ३४८ खेलाडी बन्द प्रशिक्षणमा

सुर्खेत – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप कर्णालीका तीन सय ४८ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधार संरचनासँगै खेल गतिविधि धमाधम संचालन भइरहेका हुन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार कर्णालीबाट प्रतियोगितामा सहभागिता जनाउने विभिन्न विधाका तीन सय ४८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो । जसमा दुई सय १० जना खेलाडी पहिलो चरणमा र बाँकी दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका छन् । एक सय जना पुरुष र २० महिला बन्द प्रशिक्षणमा रहेको परिषदले जनाएको छ ।

खेलाडीहरूलाई २० जना प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् । खेल विधातर्फ एथलेटिक्समा महिला पुरुष गरी २६ जना, टेबलटेनिसमा ११, उसुमा ३३, कबड्डीमा ३८, कराँतेमा २६, तेक्वान्दोमा १६, बक्सिङमा १७ र रग्बीमा ३९ जना खेलाडीहरू बन्द प्रशिक्षणमा छन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा एथलेटिक्सतर्फ १९, उसुका १८, कबड्डीका २६, कराँतेका १७, तेक्वान्दोका १५, बक्सिङका १७ र रग्बीका २६ जना खेलाडी रहेका छन् । दशौँ राष्ट्रिय खेलकुदको तयारीस्वरुप परिषद्ले प्रदेशभर हालसम्म नौ पटक प्रशिक्षण र ६३ वटा खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।

यस्तै तीनपटक प्रोत्साहन, दुईपटक प्रतिभाको खोजी गरी जम्मा एक सय १२ वटा खेलकुद गतिविधि सम्पन्न भएका छन् । दुई सय २० जना खेलाडीलाई झण्डै चार महिना प्रशिक्षण दिइएको छ भने जिल्ला र प्रदेशमा गरी करिब १० हजार र १० देखि १५ विद्यालय, ८९ पालिकास्तरमा गरी कुल एक लाख खेलाडी चलायमान भएको परिषद्ले जनाएको छ ।

प्रतियोगिता सञ्चालन अवधिभर कर्णालीमा आउने खेलाडी, अफिसियल, आयोजक र समारोहमा सहभागी हुने विशिष्ट अतिथि, अतिथिलगायत गरी आठ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ । यद्यपि यो संख्या एकैपटक आउने भने होइन ।

कर्णाली प्रदेशभर ६ हजार पाँच सय जनालाई आवास व्यवस्थापन गर्न सक्ने क्षमताका होटल तथा सार्वजनिक संरचना रहेको जनाइएको छ । प्रस्तावित तालिकाअनुसार प्रदेश खेलाडी टिमलाई परिषद्ले व्यवस्थापन गर्न सक्ने तथा तीनवटा विभागीय टिमका खेलाडीको व्यवस्थापन तीनवटै विभागले गर्न सके आवास व्यवस्थापनमा थप सहज हुने परिषद्ले जनाएको छ ।