दशौँ राष्ट्रिय खेलकुद : बजेट नहुदाँ आन्तरिक तयारीमा समस्या

सुर्खेत – आगामी मंसिरमा कर्णालीका संचालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आन्तरिक तयारीका लागि बजेट अपुग भएको छ । कर्णाली प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन नगर्दा आन्तकि तयारीका लागि बजेट अपुग हुने भएको हो ।

कर्णाली प्रदेश खेलकुद परिषदका अनुसार चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा १६ करोड बजेट माग गरिएपनि प्रदेश सरकारले दुई करोड ५६ लाख मात्र विनियोजन गरेको छ । उक्त बजेटले जिल्ला–जिल्लामा पूर्व तयारीका खेल खेलाउन नसकिने भएको हो ।

परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार आन्तरिक तयारीका लागि बजेट न्यून छ । बजेट अभावकै कारण पूर्वतयारीका खेल खेलाउन तथा खेल पूर्वाधार विकास लगाएतका अन्य काम गर्न समस्या भएको छ ।

यता संघीय सरकारले दशाँै राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि यो वर्ष ६० करोड बजेट विनियोजन गरेको छ । संघीय सरकारले प्रतियोगिता आयोजनाका लागि बजेट छुट्याएको हो । तर गृहप्रदेशमा हुने प्रतियोगिताका लागि आवश्यक तयारी गर्न भने बजेट अपुग भएको हो ।

बजेट अपुग भएपछि प्रदेश सरकारले थप स्रोत जुटाउन पहल थाल्ने सामाजिक विकास मन्त्री घनश्याम भण्डारी बताउनुहुन्छ । ‘प्रतियोगिताको आन्तरिक तयारीका लागि आवश्यक बजेटको पहल गर्ने कुरा भइरहेको छ’ उहाँले भन्नुभयो, ‘सोही अनुसार प्रतियोगिताका लागि कर्णाली सरकारको अर्थ मन्त्रालय र संघीय सरकारसँग सहकार्य भइरहेको छ ।’

आन्तरिक तयारीका लागि अपुग देखिएको आवश्यक बजेट उपलब्ध गराउने गरी मन्त्री भण्डारीले पहिलो निर्णयमा हस्ताक्षर समेत गर्नुभएको छ । बजेट सुनिश्चतासँगै तोकिएकै समयमा दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गरिने उहाँले बताउनुभयो ।

रंगशाला निर्माणमा प्रदेशले बजेट सहयोग गरेको भन्नै अब प्रतियोगिता सम्पन्न गर्न संघीय सरकारले बजेट व्यवस्थापन गरीदिनुपर्ने सदस्य सचिव संज्यालले बताउनुभयो । यसैबीच प्रदेश गौरवको आयोजना समेत रहेको रंगशाला निर्माणको ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ ।

हाल पूर्वाधार निर्माणको काम धमाधम भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरेर रंगशाला निर्माणको काम जारी छ ।

२०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको खेलकुद विकास परिषद्ले जनाएको छ ।

२०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको परिषद्का सदस्य सचिव सञ्ज्याल बताउनुहुन्छ । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशाला दश हजार दर्शक अट्ने क्षमताको बनाइने जनाइएको छ । अब रंगशालाको मेसिनरी काममात्रै बाँकी छन् । अबको एक महिनामा बाँकी काम सम्पन्न गर्ने तयारी छ ।