कर्णालीमा कांग्रेसबाट मन्त्री बनेका चारै जनाले लिए सपथ

सुर्खेत – कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेपाली कांग्रेसको तर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सपथ ग्रहण गरेका हुन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

नेकपा एमाले नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो । नवनियुक्त मन्त्रीहरूले आइतबार नै पदभार ग्रहण गरेका छन् ।

सोमबार विश्वासको मत

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्नुभएको छ ।

विश्वासको मतका लागि शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेमो छ । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री कँडेलले आफ्नो कार्याकालमा दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको छ । पहिलोपटक उहाँले गत वैशाख १३ गते संसद्बाट विश्वासको मत पाउनुभएको थियो ।