कर्णालीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मतका लागि शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेमो छ । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री कँडेलले आफ्नो कार्याकालमा दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको छ । पहिलोपटक उहाँले गत वैशाख १३ गते संसद्बाट विश्वासको मत पाउनुभएको थियो ।

तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गर्नुभएको छ ।

शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराउनुभएको छैन । सम्भव भएसम्म आइतबार नै नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ ।