कर्णालीमा धानखेतिका लागि मल अभाव नहुने

सुर्खेत – कर्णालीमा यस वर्ष धानखेतिका लागि मल अभाव नहुने भएको छ । यसवर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार हाल युरिया दुई सय ३५ टन, डिएपी दुई सय ९६ टन, पोटास १७ टन र कृषि चुन ११ टन मल गोदाममा मौज्दात रहेको छ । गोदाममा मौज्दात रहेको मल भदौ दोस्रो सातासम्मका लागि पुग्ने र अझै मल आउने क्रम जारी रहेको कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुुसार गोदाममा आवश्यक मात्रामा मल सञ्चय छ । चाहिनेजति मल गोदाममा रहेकाले यस वर्ष मल अभाव नहुने श्रेष्ठको भनाइ छ । ‘गतवर्ष पनि कृषकले सहज रूपमा मल पाएका थिए । त्यसअघिका वर्षहरूमा भने धानखेतिको समयमा बर्सेनि मलको अभाव हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘यो वर्ष भदौसम्मलाई पुग्नेगरी गोदाममा मल आइसकेको छ । धानखेतिको समयमा रासायनिक मल अभाव हुदैन ।’

उहाँका अनुसार हाल गोदाममा पर्याप्त मल उपलब्ध छ । अहिले गोदाममा मल राख्ने ठाउँ छैन । थप मल आउने क्रम जारी छ । थप मल पनि खरिद प्रक्रियामा रहेकोले मल सबै आयो भने गहुँ बालीलाई पनि धान्न सक्ने देखिन्छ । थप मलका लागि प्रक्रिया सुरु भइसकेकाले कृषकलाई मल उपलब्ध गर्न सहज हुने कार्यालय प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

कर्णालीमा धानखेतिको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ । कार्यालयका अनुसार त्यसका लागि जिल्ला–जिल्लामा मल पठाइएको छ । कम्पनीले प्रदेशका चार जिल्लामा मल वितरण गर्दै आएको छ । जसमा सुर्खेत, दैलेख, कालीकोट र जाजरकोट जिल्लामा दर्ता भएका सहकारी संस्थामार्फत् मल वितरण हुने गरेको छ ।

कर्णालीमा युरिया मल बढी खपत भइरहेपनि साविक कर्णाली अञ्चलका जिल्लाहरूमा भने रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ । प्रदेशमा कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पोरशनले ३० प्रतिशत मल वितरण गर्दै आएका छन् । अहिले पनि विभिन्न समूह, सहकारीमार्फत् मल धमाधम बिक्री वितरण भइरहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीमा एक हजार पाँच सय ६३.४ टन युरिया मल, ९७.९ टन डिएपी, पोटास ७८.७ टन र कृषि चुन २५.८ टन खपत भएको थियो । यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा १४ सय ५५.३ टन युरिया, आठ सय ४९.३५० टन डिएपी र ६८.७ टन पोटास खपत भएको थियो ।

तर समयमै पानी नपर्दा यो वर्ष कर्णालीमा धान रोपाइँ अपेक्षित रूपमा हुन सकेको छैन । अहिलेसम्म ३२ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतले दिएको जानकारीअनुसार कूल ४१ हजार नौ सय चार हेक्टर क्षेत्रफलमध्ये ३२ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा अहिलेसम्म धान रोपिएको हो । अब बाँकी नौ हजार दुई सय ३४ हेक्टर क्षेत्रफलमा पनि रोपाइँ भइरहेको निर्देशनालयले जनाएको छ ।

यो वर्ष समयमै वर्षा नहुँदा मध्येअसारसम्म पनि रोपाइँ सुरु भएको थिएन । कृषि विकास निर्देशनालयका कृषि अधिकृत यामबहादुर रानाका अनुसार वर्षा ढिला हुँदा रोपाइँ ढिला सुरु भएको थियो । समग्रमा कर्णाली प्रदेशभर ८३.०५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

निर्देशनालयका अनुसार जुम्ला, डोल्पा र जाजरकोटमा सतप्रतिशत रोपाइँ सकिएको छ भने सुर्खेतमा ७५ प्रतिशत, दैलेखमा ७२ प्रतिशत, सल्यानमा ८५ प्रतिशत, मुगुमा ८५ प्रतिशत, रूकुमपश्चिममा ७५ प्रतिशत, कालीकोटमा ८० प्रतिशत र हुम्लामा ७५ प्रतिशत रोपाइँ भएको छ । प्रदेशमा अझै १७ प्रतिशत रोपाइँ हुन बाँकी नै छ ।