कर्णाली रंगशाला निर्माणको म्याद थप, चार महिनामा कामसक्न ताकेता

सुर्खेत – कर्णाली प्रदेश रंगशाला निर्माणको म्याद थप गरिएको छ । प्रदेश गौरवको आयोजनाअन्तर्गत वीरेन्द्रनगरमा निर्माणाधिन रंगशाला तोकिएकै मितिमा काम सम्पन्न नभएपछि म्याद थप गरिएको हो ।

पूर्वनिर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरिएको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरेर रंगशाला निर्माणको काम धमाधम भइरहेको छ ।

२०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि कोरोना माहामारीका कारण लकडाउन लगाएतका कारणले समयमै काम सम्पन्न हुन नसकेको हो । अब थप म्यादभित्र समयमै कामसक्न उक्त निर्माण कम्पनीलाई ताकेता गरिएको छ ।

खेलकुद विकास परिषद्का अनुसार अब २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको छ । परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल हालसम्म ९० प्रतिशत भौतिक प्रगति हासिल भएको बताउनुहुन्छ । उहाँका अनुसार ९० प्रतिशत नै वित्तिय प्रगति भएको छ । भने रंगशाला निर्माणको अब दश प्रतिशत मात्रै काम बाँकी छ ।

प्रतियोगिताको प्रमुख केन्द्रका रूपमा उक्त रंगशालालाई लिइएको छ । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो ।

दश हजार दर्शक अट्ने क्षमताको रंगशालाको फिनिसिङलगायतका काम अन्तिम चरणमा पुगेको सञ्ज्याल बताउनुहुन्छ । उहाँका अनुसार अब मेसिनरी काममात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम बाँकी छन् ।

अहिले झ्याल ढोका, बाथरुम फिटिङ लगायतका काम धमाधम भइरहेका छन् । अबको एक महिनामा उक्त काम सम्पन्न गरिसक्ने जनाइएको छ । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ ।

दश हजार दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने काम भइरहेका छन् भने अन्य काम करिब सकिएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माणलगायतका काम अन्तिम चरणमा छन् । आउटडोर मोडमा बास्केट बल, भलिबललगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ ।

यता दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा निर्माण थालिएको कालिञ्चोक क्रिकेट मैदानको काम भने सकिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच निर्माण सम्झौता भएको थियो । ७३ लाख १८ हजार लागतमा क्रिकेट मैदान निर्माण भएको हो ।

यसैगरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रंगशाला निर्माणको काम पनि सकिएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम गरिएको हो । निर्माणको जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको थियो । २०८० चैत ५ गते अभियान कन्स्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता भइ २०८१ असार २५ गते निर्माण सम्पन्न भएको जनाइएको छ ।