चौकुनेमा जलिय पारिस्थितिक प्रणाली सुधार परियोजना सुरु

सुर्खेत – सुर्खेतको चौकुने गाउँपालिकामा दीगो मत्स्य व्यवस्थापनमार्फत जलिय पारिस्थितिक प्रणालीमा सुधार परियोजना सुभारम्भ भएको छ ।

अमेरिकी सहयोग निकाय (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित युएसएड जल जंगल परियोजना अन्तर्गत प्रो पब्लिकद्वारा चौकुने गाउपालिकामा संचालन हुने दिगो मत्स्य व्यवस्थापनमार्फत जलिय पारिस्थितिक प्रणालीमा सुधार परियोजना सुभारम्भ तथा सरोकारवालाहरुलाई जानकारी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा चौकुनेमा सञ्चालन हुने दिगो मत्स्य व्यवस्थापन मार्फत जलिय पारिस्थितिक प्रणालीमा सुधार परियोजनाको उद्देश्य तथा क्रियाकलापहरुको बारेमा प्रो पब्लिकका महासचिब प्रकाश दाहाल र कार्यकारी निर्देशक बाबुराम पौडेलले अभिमुखिकरण गरेका थिए ।

यस्तै, मत्स्य विज्ञ राजकपुर नापितले माछा एव्म अन्य जलचरहरुको जलिय पारिस्थितिय प्रणालीको महत्व र थप दिगो संरक्षणका बारेमा जानकारी गराएका थिए । यस्तै, कार्यक्रममा उपस्थित जल जंगलका प्रतिनिधि बिनोदकुमार शाहीले सम्रग युएसएआइडी जल जंगलका बारेमा जानकारी गराउँदै यस पालिका भित्र रहेका जैविक विविधता संरक्षणका लागि आगामी दिनमा गाउँपालिकासँग थप सहर्काय र समन्वय गदै अधि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष नरबहादुर वान्तोलाले चौकुने गाउपालिका सुर्खेतका अन्य पालिकाको तुलनामा जलिय एवम् अन्य जैविक विविधताको हिसाबले धनि भएता पनि सरोकारवालाहरुले उचित संरक्षणका क्रियाकलापहरु सञ्चालन गर्न नसकेको बताए । यसको उचित संरक्षणमा सबै लाग्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले परियोजना सफल बनाउन गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

गाउँपालिकाका उपाध्यक्ष नरबहादुर वान्तोलाको अध्यक्षतामा २६ असारमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकामा कार्यरत कर्मचारी, जल जंगल एवम् प्रो पब्लिकका कर्मचारी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।