न्यूनतम सेवा मापदण्डमा गढी स्वास्थ्य चौकी उत्कृष्ठ

सुर्खेत – न्यूनतम सेवा मापदण्डका आधारमा गढी स्वास्थ्य चौकी वीरेन्द्रनगरकै उत्कृष्ठ देखिएको छ । वीरेन्द्रनगर–१४ स्थित गढी स्वास्थ्य चौकीले स्वास्थ्य संस्थाका लागि कुल प्राप्त एचपी एमएसएस अङकमा सुधार गर्दै न्यूनतम सेवा मापदण्ड पुरा गरेको हो ।

वीरेन्द्रनगरका स्वास्थ्य संस्था अनुगमनको क्रममा न्यूनतम सेवा मापदण्ड अन्तर्गत गढी स्वास्थ्य चौकीले उल्लेख्य सुधार गरेको पाइएको छ । जसमा सुशासन र व्यवस्थापन, क्लिनिक सेवा व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग व्यवस्थापनमा राम्रो सुधार भएको छ ।

न्यूनतम सेवा मापदण्ड अन्तर्गतका सबै सुचकहरुमा गढी स्वास्थ्य चौकीले ८५ देखि १०० प्रतिशत अङक ल्याएको छ । यो वीरेन्द्रनगर नगरपालिकामा रहेका २० वटै स्वास्थ्य संस्थामध्ये उत्कृष्ठ अङक हो । गढी स्वास्थ्य चौकीले सबै कार्यको अनलाइन सिस्टम तथ्यांक राखने गरेको छ ।

न्यूनतम सेवा मापदण्ड अनुसार वीरेन्द्रनगरका अन्य स्वास्थ्य संस्थाले पनि सेवा प्रभावकारी बनाउने प्रयत्न गरिहेका छन् । तर गढी स्वास्थ्य चौकीको तुलनामा उपत्यकामै रहेका स्वास्थ्य चौकीको सेवा प्रवाहको अवस्था कमजोर देखिन्छ ।

सय प्रतिशत खोप कभरेज गरेको यो स्वास्थ्य चौकी स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा समेत उत्कृष्ठ छ । स्वास्थ्य चौकी प्रमुख नविन भारतीका अनुसार चालु आर्थिक वर्षको हालसम्म १९ जनाले प्रसुती सेवा लिएका छन् ।

उनका अनुसार स्वास्थ्य चौकीबाट सेवा लिनेको संख्या दैनिक २० जना बढि रहेको छ । जसमा नसर्ने भन्दा सर्ने रोगका विरामी बढि आउने गर्दछन् । तर ग्याँस जडान लगाएतका कार्यका लागि बजेट अभावका कारण चिसोको समयमा प्रसुती सेवा प्रवाह गर्न सकस पर्ने गरेको स्वास्थ्य चौकी प्रमुख भारतीले बताए ।

‘भौतिक संरचना अभाव छैन,तर जनशक्ति अभाव हुदाँ ल्याव सेवा संचालन गर्न सकिएको छैन’ उनले भने, ‘यसबारे पालिकामा पहल गरेका छौं, तर सुनुवाई भएको छैन, ल्याव सेवाका लागि ल्याइएका मेसिनहरु पनि बिग्रन थालिसके ।’ साथै स्तनपान कक्ष निर्माण र उपलब्ध जनशक्तिको क्षमता विकासका लागि उनले नगरपालिकासँग बजेटको अपेक्षा गरेका छन् ।

यता वीरेन्द्रनगर नगरपालिकाले गढी स्वास्थ्य चौकी जस्तै सबै स्वास्थ्य संस्थालाई सक्रिय बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । यस्तै नगरपालिकाले प्रजनन् उमेका महिलालाई सेनेटरी प्याड वितरण, सुत्केरीलाई थप एक हजार भत्ता, जेष्ठ नागरिक र विपन्नलाई घरमै स्वास्थ्य परिक्षण, प्रत्येक वडामा नसर्ने रोगबारे शिविर संचालन, महिला स्वयंमसेविकालाई थप तीन हजार भत्ता तथा तीन र सात दिने सुत्केरीलाई घरमै स्वास्थ्य जाँच गर्ने लगाएतका कार्यक्रम भइरहेका छन् ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले वीरेन्द्रनगरका सबै स्वास्थ्य चौकीमा अपुग जनशक्ति पूर्तीका लागि पहल भइरहेको बताए । ‘हाल सबै स्वास्थ्य चौकीमा जनशक्ति अभाव छ, तर औषधि र बजेटको अभाव छैन’ उनले भने, ‘हाल नगरपालिकामा सबै खोपको पहुँचमा पुगेका छन्, भौतिक संरचनाको पनि अभाव छैन, तर जनशक्तिको समस्या समाधान गर्न पहल भइरहेको छ ।’

शाखा प्रमुख गिरीका अनुसार हाल वीरेन्द्रनगरका २० वटै स्वास्थ्य संस्था गरी ४१ जना स्थायी र २५ जना करार स्वास्थ्यकर्मी कार्यरत छन् । ‘तथ्यमा आधारीत भएर स्वास्थ्य चौकीले बजेट माग्छन्, सोही अनुसार पालिकाले पनि विनियोजन गर्ने गरेको छ’ गिरीले भने, ‘स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई समेत तालिम दिएपछि हाल सबै सक्रिय छन् ।’

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका बरिष्ट मलेरिया निरीक्षक उदय विसीले सुर्खेतका सबै स्वास्थ्य संस्थामा जनशक्तिकै समस्या रहेको बताए । ‘स्वास्थ्य संस्थाले उपलब्ध साधान, स्रोत अनुसार सेवा प्रभावकारी बनाउने प्रयत्न गरीरहेका छन्’ उनले भने, ‘तर स्वास्थ्य संस्था पुगेका विरामी औषधि नपाएर रित्तोहात पर्किनुपर्ने अवस्था छैन ।’