काठमाडौं – सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटक बसले सेवा थालेका छन् । पोखरा र चितवनका लागि दैनिक पर्यटक बस सेवा सुरु गरिएको टुरिष्ट बस एसोसिएसन (टिबान) ले जनाएको छ ।
झण्डै ९ महिनासम्म थन्किएको बस खासै यात्रु नभए पनि सरकारको निर्णय अनुसार सञ्चालन गरिएको टिबानका अध्यक्ष इश्वर शर्माले जानकारी दिए । ‘बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दुरी, ज्वारो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ,’ अध्यक्ष शर्माले भने ।
यात्रुको चाप नभएका कारण हाललाई पोखराका लागि दैनिक दुई र चितवनका लागि एउटा मात्रै बस सञ्चालनमा ल्याइएको उनले बताए । पोखरा र चितवनबाट पनि काठमाडौंका लागि पनि सोही संख्या बस छुट्ने गरेको उनले बताए । कोभिड-१९ त्रासले मानिसहरुले यात्रा नगर्दा बसमा १०/१५ जना मात्रै यात्रु हुने गरेको एसोसिएसनले जनाएको छ ।
काठमाडौंबाट विभिन्न पर्यटक गन्तब्यमा सेवा दिने ३५ कम्पनीका दुई सय बढी ठूला बसहरु रहेको र यात्रुले गरेको बुकिङको आधारमा रोटेसनमा बस चलाउने सहमति भएको एसोसिएसनले जनाएको छ ।
सोफासहित विभिन्न सुविधाका बसहरु एसोसिएसनमा आवद्ध रहेकाले यसअघि नाट्टाले तोकेको नियमित भाडा दरमा सरकारले तोके बमोजिम ५० प्रतिशत भाडा बढाएर सेवा थालिएको अध्यक्ष शर्माले बताए ।
लामो लकडाउनले करोडौं लगानी गरेका पर्यटक बस व्यवसायीहरु गम्भीर मर्कामा परेको उनको भनाइ थियो । ( अनलाइनखबर)