कृषिप्रति आकर्षित बन्न सबैलाई प्रेरणा मिलोस : प्रदेश प्रमुख परियार

सुर्खेत – कृषिप्रति आकर्षित बन्न सबैलाई प्रेरणा मिलोस भन्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले २१ औं राष्ट्रिय धाान दिवस २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

‘कृषि प्रधान देश नेपालले कृषिमा आत्मनिर्भर बन्न र मुलुकको अर्थतन्त्रलाई सुदृढ गरी कृषिमा आधुनिकिकरण गर्दै उत्पादनतर्फ ध्यान दिदै कृषिप्रति आकर्षित बन्न सबैलाई प्रेरणा मिलोस’ उनले भने, ‘धान दिवसले सामाजिक, सांस्कृतिक सहिष्णुतालाई अझै उचाईमा पुर्याउने छ भन्ने विश्वास लिएको छु ।’

यस्तै शुभकामना सन्देशमा भनिएको छ, ‘‘प्रत्येक वर्ष असार १५ मा गरिने रोपाइलाई महोत्सवका रुपमा मनाइने धान दिवसको अवसरमा कर्णालीवासी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सम्वृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । कृषिप्रधान हाम्रो मुलुकमा खाद्यान्नको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिदै कृषकको मनोबल उच्च बनाई उहाँहरुको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले देशभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आएको छ । रोपाइ खेतमा नै गएर दहि चिउरा खाने चलन भएकोले पनि युगौयुगान्तर देखी असार १५ लाई रोपाईको माध्यमका रुपमा दहि चिउरा खाने दिन पनि भनिएको हो । प्रकृतिले दिएको हिमाल‚पहाड‚तराई तथा जलस्रोत एवं जैविक विविधतामाथि हामी स्वयम्को क्रियाकलाप र जलवायु परिवर्तनले नकारात्मक प्रभाव पारिरहेको छ । प्रकृति प्रदत्त स्रोतहरुको दिगो व्यवस्थापन एवं उपयोग मार्फत् वातावरणमैत्री आर्थिक विकासद्धारा राष्ट्रिय आकांक्षा पूरा गर्न प्रयत्नशील हुनुपरेको छ । असार महिनालाई “मानो रोपेर मुरी उब्जाउने“ महिनाको रुपमा लिने गरिन्छ । यसलाई दहि चिउरा खाने दिनको रुपमा र व्यस्तताका बिच थकाइमारिने पर्वका रुपमा समेत लिने गरिन्छ । असार महिनाको परिवेशले मानिसहरु बिच आपसी भाईचारा, आत्मियता र निकटतम सम्बन्धमा अभिवृद्धि भइरहेको हुन्छ ।’’