काँक्रेविहार हाफ म्याराथन हुदै, मुख्य प्रायोजकद्धारा टि–सर्ट वितरण

सुर्खेत – वीरेन्द्रनगरमा संचालन हुन लागेको राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको मुख्य प्रायोजकद्धारा टि–सर्ट वितरण गरिएको छ ।

बुधबार बिहान वीरेन्द्रनगर–६ नम्बर वडा कार्यालयमा भएको एक औपचारिक कार्यक्रमका हाफ म्याराथनको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङक्स र माक्स टाइगरले टि–सर्ट वितरण गरेको हो ।
खेलाडी, प्रशिक्षक तथा खेलकुद र म्याराथन प्रतियोगितासँग सम्बन्धित सरोकारवालालाई टि–सर्ट वितरण गरिएको छ । उक्त प्रतियोगिता विश्व ओलम्पिकको दिनको अवसरमा आगामी असार ७ गते हुन लागेको छ ।

कर्णाली खेलकुद विकास परिषद्कोे सहयोग तथा मिड वेस्टन फिटनेस सेन्टरको अयोजनामा प्रतियोगिता संचालन हुदैछ । प्रतियोगिता संचालन समिति संयोजक प्रमोद हमालले खेलकुदसँग सरकार र नीजि क्षेत्रलाई जोड्ने ध्येयले म्याराथन आयोजना गरिएको बताए ।

उनले भने, ‘हामी म्याराथन खेलकुद मार्फत कर्णाली र नेपाललाई विश्वसामु चिनाउने ध्ययेमा छौं । सोही अनुसार सरकारी निकायको लगानीको खाँचो छ, तर मेलामहोत्सव लाखौं खर्च गर्ने निजी क्षेधको पनि यसमा ध्यान जाओस् ।’

उनका अनुसार हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । पहिलो संस्करणमा कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी गराएका थिए । यस वर्षबाट देशैभरका धावक, धाविका प्रतियोगितामा भाग लिदैछन् ।

एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको हमाल बताउनुहुन्छ ।

हाफ म्याराथनको विजेतामध्ये २१ किलोमिटर प्रथम हुने खेलाडीलाई एक लाख राशीको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको द्वितिय स्थान प्राप्त गर्नेले ५० हजार, तृतिय हुनेलाई ३० हजार र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीलाई ३० हजार रकम पुरस्कारस्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै क्रमश १० किलोमिटर तर्फ प्रथम १०, द्धितिय ७ र तृतिय ५ हजार, ५ कि.मि तर्फ प्रथम ५, द्धितिय ३ र तृतिय २ हजार र विद्यार्थी तथा बालबालिकालाई लक्षित गरी ३ किलोमिटर दौड प्रतियोगिता पनि समावेश गरिएको छ ।

दौड प्रतियोगिताको रुट वीरेन्द्रचोकबाट सुरु भएर मंगलगडी, एअरपोर्टचोक, सुब्बाकुना हुदै फेरी सोही रुट फिर्ता भएर सुब्बाकुना, मंगलगडीचोक हुदै रेडियोनेपाल बांगेसिमल मोडबाट फिर्ता भई मंगलगडी, वीरेन्द्रचोक पुगेर समापन हुनेछ ।