कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।

‘सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं,’ उनले भने, ‘टोली त्यहाँ पुग्दै होला । बाँकी बुझ्दैछौं ।’ – onlinekhabar