स्पेनमा भएको अल्ट्रा म्याराथनमा जुम्लाकी सुनमाया तेस्रो

सुर्खेत – नेपाली अल्ट्रा धाविका सुनमाया बुढा स्पेनमा भएको ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो भएकी छन् । उनी जुम्लाकी हुन् ।

स्पेनको क्यानरी आइल्याण्ड स्थित भोल्क्यानिक आइल्याण्ड ला पाल्मामा भएको ७२ किलोमिटरको उक्त अल्ट्रा म्याराथनमा सुनमायाले ८ घण्ठा २० मिनेट ३१ सेकेण्डमा पूरा गरेकी थिइन् ।

उनी पहिलो भएको धाविका भन्दा १८ मिनेट र दोस्रो भएकी धाविका भन्दा ४ मिनेटले मात्र पछि थिइन् ।

पहिलो भएकी रुथ क्रोफ्टले ८ घण्टा २ मिनेट ४९ सेकेण्डमा दौड पूरा गरिन् । यस्तै दोस्रो भएकी इदा निल्सनले ८ घण्टा १६ मिनेट ३२ सेकेण्डमा पूरा गरिन् । ट्रान्सभुल्कानिया विश्वकै कठिन रेस मध्ये एक हो ।