हिल्सामा राजस्व सङ्कलनमा समस्या

हुम्ला – नेपाल र चीनको व्यापारिक नाका हिल्सामा राजस्व सङ्कलनमा समस्या देखिएको छ । यारी भन्सार कार्यालय हिल्सामा कर्मचारी नभएपछि चीनको ताक्लाकोटबाट आउने व्यापारीबाट राजस्व सङ्कलनमा गर्न समस्या देखिएको हो ।

सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले चार दिनयता चीनको ताक्लाकोटबाट व्यापारीहरूले सामान आयात गर्न सुरु गरेपनि भन्सार कार्यालय बन्द भएका कारण राजस्व सङ्कलनमा समस्या देखिएको बताउनुभयो ।

त्यसअघि ताक्लाकोटबाट सामान ल्याइँदैन थियो । कार्यालय प्रमुख रामराज जैसी बिदामा फिर्ता भएपछि कार्यालय कर्मचारी विहीन भएको छ । गत मङ्सिर अन्तिम सातादेखि हिल्सामा रहेको भन्सार कार्यालय पाँच महिनादेखि बन्द रहँदै आएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक विष्टले दैनिक तीनदेखि चार ट्रक सामान ताक्लाकोटबाट आउने गरेको भए पनि त्यसको राजस्व सङ्कलनमा समस्या भइरहेको जानकारी दिनुभयो । सामानको विवरण आफूहरूले तयार गरी रहेको भए पनि त्यसको हिसाब किताब गर्न कठिन र बिल काट्न समस्या भएको गुनासो उहाँले गर्नुभयो ।

ताक्लाकोटबाट विकास निर्माणका सामान छड, सिमेन्ट, सरिया, जस्तालगायत दैनिक उपभोग्य सामग्री लत्ताकपडा समेत ल्याइने गरिएको छ । कार्यालय प्रमुख जैसीलाई फोन गरेर हिल्साको अवस्थाको बारेमा जानकारी गराएको भए पनि उहाँले आउन नमानेको सशस्त्र प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।

भन्सार कार्यालयमा दरबन्दी अनुसार कर्मचारी व्यवस्था नगरिँदा राजस्व सङ्कलनमा समस्या आइरहेको छ भने यसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई समेत दिइएको छ ।