सुर्खेत – वीरेन्द्रनगरमा बैशाख २९ गते शनिबार प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता हुदैछ । प्रथम म्याराथन प्रतियोगितामा राष्ट्रिय स्तरका स्थापित धावकहरुले प्रतिस्पर्धा गर्दैछन् । खुल्ला हाफ म्याराथनमा महिला, पुरुष र विद्यालय तहका छात्र, छात्राहरु सहभागी हुनेछन् ।
तीन क्याटोगरीमा एकै पटक संचालन हुने म्याराथनमा भाग लिन करिब एक हजार बिढले नाम दर्ता गराएको आयोजक रेस नेपाल संस्थाका अध्यक्ष टीएस ठकुरी बताउनुहुन्छ । रेस नेपालले यसअघि संचालन गर्दै आएको नेपालगंज म्याराथनको यात्रा एक दशक पुगेपछि कर्णालीमा पनि दौड संस्कृतिको विकास गर्न यस वर्षदेखि हाफ म्याराथन आयोजना गरिएको हो ।
दुवै म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ । सुर्खेतमा पहिलो पटक हुन लागेको कर्णाली हाफ म्याराथनलाई दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन इभेन्टका रुपमा हेरिएको छ ।
यो म्याराथनले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुदलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा छ । म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं निजीक्षेत्रको सहयोगमा हाफ म्याराथन संचालन हुदैछ ।
म्याराथनका लागि सम्पूर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले लिनुभएको छ । पहिलो संस्करणको सफलतापछि आगामी वर्षहरुमा नियमित हाफ म्याराथन आयोजना गरिने अध्यक्ष ठकुरी बताउनुहुन्छ ।
म्याराथनको विजेता महिला तथा पुरुषलाई समान ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई समान २० हजार रुपैयाँ नगद रकमले पुरस्कृत गरिने आयोजकले जनाएको छ । ।
हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । कर्पोरेटतर्फका विजेतालाई विशेष प्याकेजद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।