एक लाख राशीको काँक्रेविहार हाफ म्याराथन हुँदै

सुर्खेत – वीरेन्द्रनगरमा एक लाख राशीको काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । ओलम्पिक डेका अवसरमा आगामी ७ असारमा राष्ट्रियस्तरको हाफ म्याराथनको दोस्रो संकरण आयोजना गर्न लागिएको हो ।

कर्णाली खेलकुद विकास परिषद्कोे सहयोगमा मिड वेस्टन फिटनेस सेन्टरको अयोजनामा प्रतियोगिता हुन लागेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

‘खेलकुदसङ्ग सरकार र निजि क्षेत्र जोड्ने लक्ष्यले हामीले विगतका वर्ष जस्तै यस वर्ष पनि म्याराथन आयोजना गर्न लागेका छौं,’ काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले भने, ‘पहिलो संस्करणमा हामीले कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी गराएका थियौं, यस वर्षबाट हामीले देशैभरका धावकलाई समेटने तयारी गरेका छौं ।’

एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको हमालले बताए ।

२१ किलोमिटरको हाफ म्याराथनका अलावा विद्यार्थीलाई केन्द्रीत गर्दै ५ किमि र तीन किलोमिटर दौड समावेश गरिएको उनले बताए । हाफ म्याराथन चुम्ने प्रथम खेलाडीलाई एक लाख राशीको पुरस्कार प्रदान गरिने हमालको भनाई छ ।

यस्तै दौडको द्वतिय स्थान प्राप्त गर्नेले ७५ हजार, तृतियलाई ५० हजार नगद रकम प्रदान गरिनेछ । प्रतियोगितामा सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीलाई ३० हजार पुरस्कारस्वरुप प्रदान गरिने हमालले बताए ।