सुर्खेत – कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङको काम सुरु भएको छ । आइतबार संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले मुख्य ड्रिलिङको काम शिलान्यास गर्नुभएको हो । दैलेखको भैरबीगाउँपालिका–१ स्थित जलजलेमा मुख्य ड्रिलिङको काम सुरु भएको छ ।
पेट्रोलियम अन्वेषण अन्र्तगत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै संघीय आपूर्ती मन्त्री भण्डारीले अन्तिम चरणको कामको शुभारम्भ घोषणा गर्नुभएको हो । ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम तथा देशको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण रहेको यो परियोजना सफल बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो ।
यो परियोजना सफल भएको खण्डमा कर्णालीबाट इन्धन समृद्धिको यात्रा सुरु हुने भन्दै मन्त्री भण्डारीले मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुननदिने प्रतिवद्धता जनाउनुभयो । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङ्गको काम सुरु भएपछि अब छिट्टै पेट्रोलियम पदार्थ उत्खनन हुने अपेक्षा छ । अबको चार महिनाभित्र काम सम्पन्न हुनेगरी मुख्य ड्रिलिङको काम सुरु भएको हो ।
ड्रिलिङको काम सकिएपछि उक्त स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास हो भन्नेकुरा एकिन हुनेछ । २०७२ मा भारतले लगाएको अघोषित नाकाबन्दीपछि चर्चित बनेको पेट्रोलियम पदार्थका खानीको अन्वेषण र उत्खनन्को काम नतिजा उन्मुख चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार मुख्य ड्रिलिङका लागि चीनबाट ल्याइएका उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरिएका छन् ।
अब हुने मुख्य ड्रिलिङबाट चार हजार पाँच सय मिटरसम्मको गहिराईसम्म अन्तिम अन्वेषणको काम गरिने परियोजना प्रमुख नापित बताउनुहुन्छ । जसका लागि एक सय ५७ वटा ट्रकबाट आवश्यक उपकरणहरु परियोजनास्थल पुर्याइएको छ । भने केही उपकरणहरु ल्याउने तयारी छ ।
‘अबको चार महिनाभित्र पेट्रोलियमपदार्थ वा ग्यास के हो ? कति परिमाणमा छ ? उत्पादन गर्न सकिने वा नसकिने भन्ने सबैकुराको निक्र्यौल हुनेछ’ नापितले भन्नुभयो, ‘दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यासहरु बलिरहेको र पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको भन्ने प्राविधिक प्रतिवेनदनका आधारमा पनि पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण छ । जहाँ सयौँ वर्षदेखि जमिनमै ग्यासहरु बलिरहेको छ ।’
पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियमपदार्थ तैरिइरहेको प्राविधिक रिपोर्टले देखाएकाले कति गहिराईमा छ ? र कुन–कुन ठाउँमा छ ? भन्नेकुरा अब अध्ययनरत ड्रिलिङको कामबाट एकिन हुनेछ । हाल परियोजना स्थलमा २१ चिनियाँ प्राविधिकसहित झण्डै ५० जना नेपाली सहयोगीहरुले २४ सै घण्टा अन्वेषणको काम गरिरहेका छन् ।
एक वर्षको समायावधि थप
२०७६ बाट सुरु भएको दैलेखमा पेट्रोलियमपदार्थ अन्वेषण परियोजनाको अवधि २०८१ चैत १६ सम्मका लागि थपिएको छ । दुई वर्षअघि थपिएको १४ चैत २०८० सम्मको म्यादमा पनि काम सम्पन्न नभएपछि मन्त्रिपरिषद्ले एक वर्षको समायावधि थप गरेको हो । चिनियाँ पक्षसँग सम्झौता हुँँदा ड्रिलिङका लागि ११ देखि १८ महिना लाग्ने उल्लेख भएकाले एक वर्षका लागि कामको म्याद थपिएको जनाइएको छ ।
ड्रिलिङ सुरु भएको ढिलोमा ५ देखि ६ महिनामा काम सम्पन्न हुने बताईएको छ । यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । सोहि अनुसार अन्वेषणको काम सुरु गरिएको थियो । तर कोरोना माहामारी लगायतका विभिन्न कारणले परियोजना कार्यान्वयनमा भएको ढिलाईले लागत बजेट समेत बढेको चिनियाँपक्षले जानकारी दिएको छ ।
परियोजना कार्यान्वयनका लागि नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागले गठन गरेको ‘पेट्रोलियमअन्वेषण प्रवद्र्धन परियोजना’का प्रमुख दिनेशकुमार नापितका अनुसार नेपालका तर्फबाट भने जमिन अधिग्रहणका लागि आवश्यक मुआब्जा वितरण गर्न करिब एक करोड रुपैयाँखर्च भएको छ ।
यस अघि भैरवीगाउँपालिका– १ जलजलेमा ४५ रोपनीजग्गा अधिग्रहण गरिएको थियो । यो परियोजना सफल भए देशको अर्थिक समृद्धिको ढोका खुल्नेछ । भने स्थानीयस्तरमै रोजगारी सृजना भई आर्थिक उपार्जनमा टेवा पुग्नेछ ।
यसरी सुरुभयो अन्वेषण प्रक्रिया
२०७२ मा नेपालको नयाँ संविधान जारी भएलगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका कारण नेपालमा पेट्रोलियमपदार्थको अभाव चुलियो । अभावकैबीचमा देशभित्रै सम्भावित पेट्रोलियमपदार्थको खोजी थालियो । अनी सुरु भयो दैलेखमा पेट्रोलियमपदार्थको उत्खनन्का लागि अन्वेषणको काम । भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियमपदार्थको उत्खननका लागि अन्वेषणको काम गर्ने साइत जुराएको थियो ।
२०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख आइपुग्यो । पेट्रोलियमपदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डे सहितको टोलीले दैलेखमा पेट्रोलियमपदार्थको भण्डार रहेको अन्वेषण कार्यको सुरुवात गर्ने उद्घोष गरेको थियो । त्यसबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियमपदार्थ रहेको पुष्टि ग¥यो । २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियमपदार्थ अन्वेषण तथा उत्खननका लागि सहकार्य गर्ने सहमति भएको थियो ।
नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियमपदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमति अनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियमपदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।
२०७६ असार १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्नवेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइनाजियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो ।
दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भे लगाएतका काम सम्पन भईसकेको छ ।
अन्वेषण क्षेत्रमा ज्वाला बल्दै
दैलेख धार्मिक, पुरातात्विकएवं सांस्कृतिक सम्पदाको हिसावले ऐतिहासिक स्थल पनि हो । यहाँ रहेको पञ्चकोशी तिर्थस्थल क्षेत्रमा सदिऔँदेखि निरन्तर ज्वाला बलिरहेको छ । नेपालकै प्रसिद्ध पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा ज्वाला बलिरहेको छ । त्यहाँबग्ने खोलाको पानीमाथी पनि आगो बल्छ । कसैले यसलाई दैवीशक्तिको कारण भन्छन् । स्थानीयले दैविशक्तिको कारण ज्वाला बलिरहेको विश्वासमा पुजापाठ गर्छन् ।
श्रीस्थान र नाविस्थान क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियमपदार्थ देखिने गरेको छ । कतिपयले ज्वाला बलिरहेकोले यस क्षेत्रमा पेट्रोलियमपदार्थ भएको अनुमान लगाउँथे । दैलेखका खोलामाथि पेट्रोलियमपदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेको लगायतबाट त्यहाँ पेट्रोलियमपदार्थ रहेको अनुमान गरिएको थियो । खानी तथा भूगर्भ विभागले विगत चार दशकदेखि पेट्रोलियमपदार्थको अन्वेषण गर्दै आएको थियो । प्राविधिकजनशक्ति र उपकरण अभावले अन्वेषणले गति लिनभने सकेको थिएन् ।
पञ्चकोशी तीर्थस्थलमध्ये अहिले श्रीस्थान, नाभीस्थान र पादुकामा अखण्ड रूपमा ज्वाला बलिरहेको छ । श्रीस्थानमा जमिनमुनिबाट निस्किएको अखण्ड दीपका रूपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । तर सरकारी अध्ययनले यसरी निरन्तर जमिनमा ज्वाला बल्नुको पछाडि कुनै दैवीचमत्कार नभएर जमिनमुनि प्राकृतिक ग्यास रहेको पुष्टि गरेको छ ।