एक वर्षअघि किनेको गाडी कर्णाली करिडोर हुँदै सिमकोट पुग्यो

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिकाले एक वर्ष अघि खरिद गरेको गाडी मंगलबार बिहान सदरमुकाम आइपुगेको छ । गाउँपालिकाको गाडी कर्णाली करिडोरको छार सडक खण्डको भीर छिचोलीएपछि सदरमुकाम सिमकोट आज बिहान आइपुगेको गाउँपालिका कार्यावाहक तथा उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो ।

गाउँपालिकाको गाडी उत्तरी छिमेकी चीन भएर ल्याउने भनिए पनि समयमै नाका नखुल्दा नेपालगञ्जमा रहँदै आएको गाडी हप्तादिन लगाएर सिमकोट पुगेको हो । नेपालगञ्ज सुर्खेत हुँदै कर्णाली करिडोरको बाटो भएर गाडी चालक जोर बोहराले आज बिहान सदरमुकाम सिमकोट पुराउनु भएको हो । गाउँपालिकाको गाडीमा चालक बोहरासहित वडा नम्बर चारका वडाध्यक्ष प्रताप लामा र शिखर इन्स्योरेन्सका प्रमुख गोरासिंह बोहरा पनि नेपालगञ्ज – सुर्खेत हुँदै सिमकोट आइपुगेका हुन् ।

छारे सडक खण्डको भीर छिचोल्न थोरै मात्रै बाँकी रहेपनि गाउँपालिकाको गाडी भएको हुनाले त्यस खण्डबाट आउन दिएको चालक बोहराले बताउनुभयो । हुम्ला पुगेको गाडी उक्त खण्डबाट नछोड्दा खार्पु दोभानमा पानीको बहाव बढी बढ्ने भएकाले गाउँपालिकाको आग्रहमा सडक निर्माण गरिरहेको नेपाली सेनाले गाडी छोडेको हो । त्यस सडक खण्डमा अन्य कुनैपनि गाडीलाई आवतजावत गर्न दिएको छैन् ।

केही दिन अघि मात्रै दुईवटा ठूला टिपर सोही खण्ड भएर सिमकोट पुगेका थिए । त्यस लगत्तै दोस्रो पटक गाउँपालिकाको गाडी कर्णाली करिडोरको छारे सडक खण्ड भएर पुगेको हो । उक्त सडक खण्ड नेपाली सेनाले असार १५ गतेपछि मात्रै हस्तान्तरण गर्नुका साथै अन्य सवारी साधनलाई आवतजावत गर्न दिने भएको छ ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाको विचमा पर्ने कर्णाली नदीमा गाडी तर्न बेलीब्रीज नभए पनि नदीबाट गाडी तारेर ल्याइएको हो । बिहानको समय कर्णाली नदीमा पानी कम हुँदा गाडी चालक बोहराले सहज तरिकामा गाडीलाई नदी पार गरेर सिमकोट पुर्‍याउनु भएको हो ।